उदयपुर–१ मा १०० मत बदर गरेर पुनः गणना थालियो


१३ मंसिर २०७९, मंगलवार
narayan khadka

उदयपुर । उदयपुर–१ को मतगणना पुनः शुरु भएको छ । सो क्षेत्रको मतगणना तीन दिदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुनः गणना शुरु गरिएको हो ।

उदयपुर क्षेत्र नं. १ का १० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना शुरु गरिएको छ । बदर भएका मतपत्रहरु उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (२) अन्तर्गतका हुन् । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रदेश सभा २ तर्फका १०० वटा मतपत्र दोहोरो परेकाले ती मतपत्रहरु बदर गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार मंसिर १० गते मतगणनाको क्रममा खोलिएका जनता मावि, श्रीपुर (क), जनता मावि, देउरी (क), जनता मावि, देउरी (ख), जनता मावि, देउरी (ग), अम्वेवर मावि, राजावास (क), बालमन्दिर मावि, बोक्से (ख), मावि चिलाउने (ख)समेत १० वटा मतदान केन्द्रहरुको मतपेटिका खोली मिसाइएका मतपत्रहरु बदर हुनेछन् ।

निर्वाचन आयोगले मंसिर ५ गते गरेको निर्णयमा पनि जुन प्रणाली वा सभाको मतपत्र दोहोरो परेको हो, त्यस्तो मतपत्र बदर गर्ने भन्ने व्यवस्था बमोजिम आफूले बदर हुने निर्णय लिएको सुवेदीको भनाइ छ ।

गत शनिबार बिहान क्षेत्र नं १ को मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र संघको मतपेटिकामा भेटिएको र केहीमा तथ्याङ्ककानुसारको मतपत्रभन्दा बढी पाइएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो ।
नेकपा (एमाले) सहितका केही स्वतन्त्रका उम्मेदवारले पुनः मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध हुन पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७