नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सक्नुपर्छ : मन्त्री कुँवर


१८ मंसिर २०७९, आईतवार
sherbahadur kunwar

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन् ।

आज आइतवार नेपाल एफएम नेटवर्कको १९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताएका हुन् । उनले देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसाय खोलेर रोजगारीको वातावरण मिलाउनु पर्ने बताए ।

उनले भने, ‘रोजगारी सिर्जना गर्न हामीले सकेका छैनौँ । जहाँ रोजगारी सिर्जना भएको छ, त्यहाँ नेपाली श्रमिकको आकर्षण पनि छैन । मजदुरको अवस्था हेर्दा विदेशी धेरै छन् । हामी खाडीमा गइरहेका छौँ । हाम्रा श्रमिकलाई हाम्रै देशमा बस्ने वातावरण कसरी सिर्जना गर्ने भन्ने बारेमा सोच्नुपर्छ । झण्डै नेपालको आधा जनसङ्ख्या विदेशिक श्रममा गएको छ । यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल गर्न आवश्यक छ ।’

मन्त्री कुँवरले गएको आर्थिक वर्षमा मात्रै छ लाख ३० जना नेपाली श्रम स्वीकृति लिएर विदेश गएको तथ्याङ्क रहेको बताए । उनले लुकेर र भिजिट भिसामा विदेशमा गइ काम गर्नेका लागि कुनै समस्या परे राज्यले दिने सेवा, सुविधा नपाउने उल्लेख गरे । नेपालको कुल जनसंख्यामध्ये झण्डै आधा जनसंख्या विदेशमा रोजगारीका लागि गएको भन्दै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा गम्भीर हुन आवश्यक रहेको उनको भनाइ छ ।

मन्त्री कुँवरले श्रम मन्त्रालयले विदेशबाट फर्किएकाहरूका लागि पुनः एकीकरणको कार्यक्रम ल्याएको भन्दै यसलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताए । उनले सामाजिक सुरक्षा कोषको दायरालाई बढाउन सके १० लाख जनासम्मको रोजगारी स्वदेशमा नै सिर्जना गर्नसक्ने दाबी गर्नुभयो । मन्त्री कुँवरले स्वदेशमै उत्पादन बढाउन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७