‘मीनबहादुर केसी स्मृति कप फुटबल’ को उपाधि टाईगरलाई


२२ मंसिर २०७९, बिहीबार
min

दाङ । दाङ तुलसीपुरको दमारगाउँमा आयोजित जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गीय मीनबहादुर केसी स्मृति कप फुटबल प्रतियोगिता–२०७९ को उपाधि आयोजक टाईगर युवा क्लब तुलसीपुर–३ ले जितेको छ ।

टाईगर युवा क्लब तुलसीपुर–३ दमारगाउँको आयोजनामा भएको प्रतियोगिताको आज बिहीबार सम्पन्न फाइनल खेलमा ज्ञानज्योति फुटबल क्लब तुलसीपुर–६ लाई शून्यका विरुद्ध २ गोलअन्तरले पराजित गर्दै टाईगर युवा क्लबले उपाधि जितेको हो । उपाधिसँगै उसले नगद एक लाख ३० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाइनलमा हार ब्यहोरेको ज्ञान ज्योति उपबिजेतामा सीमित रहँदै नगद ६५ हजार, कप मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

उल्लेख्य दर्शकको उपस्थिमा टाईगर क्लबको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको पहिलो हाफको समाप्तीसम्म गोलरहित बराबरी भए पनि दोस्रो हाफको ९ औं मिनेटमा जर्सी नम्बर १३ का माधव घिमिरेले पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । त्यस्तै जर्सी नम्बर ५ का विजयसिंह ठकुरीले दोस्रो हाफको १८ औं मिनेटमा थप एक गोल गर्दै टिमलाई २–० को जित निकाल्न सफल भए ।

फुटबल खेलको विकास र प्रवर्द्धनसँगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा दाङलगायत अन्य जिल्लामा स्थापित क्लबका १४ टिमको सहभागिता थियो । यसैबीच प्रतियोगिताको समापन समारोह खेल संयोजक सुरबीर गुरुङको अध्यक्षता तथा ९९ वर्षीय बयोवृद्ध समाजसेवी ब्यक्तित्व तिलकबहादुर मल्लको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य टेकबहादुर बिकको विशिष्ट आतिथ्यमा भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७