अर्जेन्टिनासँग आठ बर्षअघिको हारको बदला लिने दाउमा नेदरल्यान्ड्स


२३ मंसिर २०७९, शुक्रबार
Arje

काठमाडौं । लुइस भान गालको प्रशिक्षणमा रहेको नेदरल्यान्ड्स र लियोनल मेस्सीको चीरप्रतिद्वन्द्वी अर्जेन्टिना सेमिफाइनल प्रवेशका लागि लुसेल आइकोनिक रंगशालामा आज (शुक्रबार) राति १२ः४५ बजे प्रतिस्पर्धा गर्दैछन् । युरोपियन र दक्षिण अमेरिकी टोलीबीचको क्वार्टरफाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । नेदरल्यान्ड्स ८ वर्ष पहिलेको हारको बदला लिने दाउमा छ भने लियोनल मेस्सीको टिम अर्जेन्टिना फेरि उसलाई निरास बनाउने योजनामा छ ।

नेदरल्यान्ड्सले प्रि–क्वार्टरफाइनलमा अमेरिकालाई ३–१ ले हराएको थियो । दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ ले पराजित गर्‍यो । युवा अट्याकर कोडी गाक्पोले अग्रपंक्तिमा उत्कृष्ट प्रदर्शन गर्दा नेदरल्यान्ड्सले आफ्नो अपराजित यात्रालाई अगाडि बढाउने योजना बनाएको छ ।

सन् २०१४ को उपविजेता अर्जेन्टिना सन् २०१४ को संस्करणमा अन्तिम १६ बाट बाहिरियो । सन् १९९८ देखि अर्जेन्टिना नकआउट चरणमा युरोपेली राष्ट्रकै सिकार भएको छ । नेदरल्यान्ड्स र अर्जेन्टिनाबीचको पछिल्लो भेट सन् २०१४ विश्वकप हो । अर्जेन्टिनाले सेमिफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हरायो । नेदरल्यान्ड्स यही हारको बदला लिन चाहन्छ ।

सन् २००६ मा भने दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । हालसम्म नौ खेल हुँदा अर्जेन्टिना तीन र नेदरल्यान्ड्स चार खेलमा विजयी भएका छन् । दुई खेल नतिजाविहीन छ । मेम्पिस डिपाए र डेले ब्लाइन्डले डच टोलीका लागि राम्रो गरिरहेका छन् । रक्षापंक्तिमा कप्तान भर्जिल भान डाइकसँगै नाथन छन् ।

नेदरल्यान्ड्सले पछिल्लो पाँचमध्ये चार संस्करणमा अन्तिम आठ खेलेको थियो । सन् २००६ मा अन्तिम १६ र सन् २०१० मा सेमिफाइनल पुगेको नेदरल्यान्ड्स सन् २०१८ को विश्वकपमा छनोट नै भएन । सन् २०१० मा उपविजेता बनेको नेदरल्यान्ड्स पछिल्लो १९ खेलमा अपराजित छ । अट्याकिङ खेलसँगै नेदरल्यान्ड्सले युरोपमा तहल्का पिटिरहेको छ । कप्तान लियोनल मेसी एक हजार खेलसँगै उच्च लयमा छन । सात पटक बालोन डिअर विजेता मेसी पहिलो पटक विश्व च्याम्पियन बन्ने दौडमा छन् ।

अघिल्लो चार पटकको विश्वकपमा उनले नकआउट चरणमा गोल गर्न सकेनन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर मेसीलाई म्यानचेस्टर सिटीका जुलियन अल्भारेजले अग्रपंक्तिमा साथ दिनेछन् । यसैगरी, एन्जेलो डी मारिया, रोड्रिगो डी पाउल, एलेक्सिस क्याक एलिस्टर र एन्जो फर्नान्डेजले मध्यभागमा सहयोग गर्नेछन् । रक्षापंक्तिमा मार्काेस अकुना, निकोलास ओटामेन्डीसँगै लिसान्द्रो मार्टिनेज र क्रिस्टिअन रोमेरो हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७