कास्की पुगेर प्रचण्डले भने, ‘प्रधानमन्त्री भए भ्रष्टाचार नियन्त्रण गर्छु’

‘आगामी निर्वाचन कास्कीबाट लड्न सक्छु’


२८ मंसिर २०७९, बुधबार
prachand

कास्की । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको नेतृत्व गर्ने अवसर पाए भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन् ।

आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भए भ्रष्टाचार गर्नेहरुलाई कडा कारबाही गर्ने दावी गरे । प्रचण्डले भने, ‘देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्छु । भ्रष्टाचार नियन्त्रण यो देशको विकासका लागि अनिवार्य शर्त छ ।’

प्रचण्डले अब कसरी अगाडि बढ्ने भनेर घनिभूतरुपमा गृहकार्य गरिरहेको बताएका छन् । प्रचण्डले भने, ‘यो पटकको निर्वाचनमा जनताले प्रमुख राजनीतिक दललाई अवसर र चुनौती दिएका छन् । सुशासन र समृद्धिको दृष्टिकोणले जनतालाई केहि दिन आवश्यक छ । यो निर्वाचनबाट केहि नयाँ राजनीतिक दल जन्मिएका छन् । नयाँ दललाई नकारात्मक होइन सकारात्मक रुपमा लिनुपर्छ ।’

सबै राजनीतिक दलहरु अहिलेको परिस्थितिलाई कसरी ग्रहण गर्ने र आउने दिनमा जनताको बृहत्तर हितमा लाग्ने विषयमा छलफल शुरु भएको बताएका छन् । राजनीतिक परिवर्तनको दिगोपनमा प्रश्न उठिरहेको उनको भनाइ छ । प्रचण्डले भने, ‘सबै राजनीतिक दलहरुले समीक्षा गर्दै आर्थिक विकासमा नयाँ क्रान्ति ल्याउनुछ । अनि मात्रै राजनीतिक क्रान्ति सफल हुन्छ ।’ अध्यक्ष ‘प्रचण्ड’ ले आउँदो निर्वाचन कास्कीबाट लड्ने संकेत गरेका छन् ।

उनले आफू अहिलेसम्मका निर्वाचनमा फरक–फरक क्षेत्रबाट चुनाव लडेको भन्दै अर्को पटक कास्कीबाट लड्न सक्ने सुनाए ।
‘मैले पहिलो पटक काठमाडौं र रोल्पाबाट निर्वाचन लडें । दोस्रो पटक मधेशबाट लडें । यसपछि फेरि चितवनबाट लडें अहिले गोरखाबाट चुनाव जितेर आएको छु,’ प्रचण्डले भने, ‘मलाई लाग्छ समय भने जस्तो भयो भने अर्को पटक कास्कीबाट पनि चुनाव लड्न सक्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७