जाडोसँगै सुनसान बन्यो तोक्पेगोला


२८ मंसिर २०७९, बुधबार
topkegola 1

ताप्लेजुङ । चिसो बढेसँगै ताप्लेजुङको हिमाली गाउँ तोक्पेगोला आजकल सुनसान हुन पुगेको छ । हिउँदको चिसो छल्न यहाँका मानिस बस्ती छाडेर अन्यत्र सरेपछि तोक्पेगोला सुनसान बन्न पुगेको हो ।

हिउँदको कठ्याङ्ग्रिदो जाडो सुरु भएसँगै यहाँका बासिन्दा तल्लो भेगमा पर्ने पापुङ, दोङ्गेन, तार्तोङ, लाम्साङ र सङ्खुवासभाको गुफालगायत ठाउँमा गएर बस्न थालेका छन् । हरेक वर्षको जाडो याममा उनीहरु याक, चौँरी गोठसहित ती ठाउँमा गएर बस्ने गर्छन् । याक गोठ हुने गुफा र सिम्बोकका क्षेत्रमा पुग्छन् भने गाईगोठ हुनेहरु औँलका गाउँबस्तीतिर झर्छन् ।

पशुपालन व्यवसाय गर्नेबाहेक अन्य व्यक्ति घुमघामका लागि सिक्किम, दार्जलिङ, काठमाडौँलगायत ठाउँमा जान्छन् । जाडो नहुँदा तोक्पेगोलामै विभिन्न काम र व्यवसाय गरेर समय बिताउने उनीहरु जाडोको समयलाई घुमघामको अवसर र फुर्सदका रुपमा लिन्छन् ।

मिक्वाखोला गाउँपालिका–५ पापुङमा पर्ने तोक्पेगोलामा २७ घरपरिवारको बसोबास छ । यहाँका वडाध्यक्ष ग्यान्जे शेर्पाका अनुसार मङ्सिर लागेसँगै यहाँको बस्ती मानवविहीन हुन्छ । यहाँका घरमा भोटे ताल्चा लगाइएका छन् । नजिकैका स–साना खोल्सी र पोखरीमा पानी जम्न थालेको छ भने डाँडाकाँडा हिउँले ढाकिएको छ । हिजोआज गाउँ छाडेर हिँडेका व्यक्ति बैशाख–जेठदेखि पुनः यही बस्तीमा फर्किन्छन् ।

करिब तीन हजार मिटरभन्दा माथिको उचाइमा पर्ने तोक्पेगोलामा प्राय ढोक्प्या जाती मात्र बस्छन् । पशुपालन, जडीबुटी सङ्कलन तथा व्यापार यहाँका बासिन्दाको मुख्य पेसा हो । यस क्षेत्रमा शैक्षिक संस्था तथा विद्यालय नभएकाले प्रायःजसो बालबालिका बाक्लो बस्ती रहेको पापुङ, सदरमुकाम फुङलिङलगायतका ठाउँमा बसेर अध्ययन गर्छन् । कतिपय बालबालिकालाई आफ्ना अविभावकले काठमाडौँ, भारतको सिक्किम, दार्जलिङलगायत ठाउँमा राखेर पढाउने गरेकाकाले जिल्ला बाहिर रहेका आफ्ना बालबच्चालाई पनि जाडोको समयमा भेट्ने अबसर मिल्छ ।

बर्खाभर गाउँबस्तीमै बसेर काम गर्नुपर्ने, पशुचौपायाको हेरचाह गर्नुपर्ने र यातायातको समेत सुविधा नहुँदा झट्ट निस्किएर हिँड्न नपाइने भएकाले जाडोकै समयमा घुमघामका लागि निस्कन सहज हुने स्थानीयवासी मिलन शेर्पाले बताए । तल्लो क्षेत्रमा गोठ सारेपछि थोरै जनशक्तिले पनि गोठको रेखदेख गर्न सक्ने भएकाले आलोपालो गरेर घुमघाममा निस्कने गरेको उनको भनाइ थियो ।

तोक्पेगोलादेखि सदरमुकाम फुङलिङ आइपुग्न सवारी साधनमा र पैदल गरी कम्तीमा दुई दिनको समय लाग्छ । तोक्पेगोलादेखि साँवासम्म हिँडेर र त्यसयता गाडीमा चढेर सदरमुकाम आउन सकिन्छ । केहि दिनअघि मात्र पापुङमा सडक पुगेको छ ।

सडक पुगे पनि सवारीसाधन नियमित ओहोरदोहोर सुरु भएको छैन । तोक्पेगोलामा साउनदेखि असोज, कात्तिकसम्म आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ । तोक्पेगोला नजिकै सोदु पोखरी, भूतपोखरीलगायत दर्जनौँ पोखरी रहेकाले घुमघामका लागि सदरमुकामलगायत अन्य क्षेत्रका मासिन यहाँ आइपुग्ने गर्दछन् ।

बर्खाभर आन्तरिक पर्यटकको आगमनले पनि चहलपहल हुने तोक्पेगोलामा हिउँद लागेपछि भने बर्सेनि सुनसान हुन्छ । दर्जनौं पोखरीका साथै रमणीय ठाउँ भएकाले घुम्न र अवलोकनका लागि सो क्षेत्रमा बर्सेनि आन्तरिक पर्यटक पुग्ने गरेका हुन् । वर्षेनि नागपञ्चमीका दिन ढोक्प्या जातिहरुले ढुक्पाछेसी पर्व मनाउने र पर्वकै अवसरमा खेलकुदलगायत कार्यक्रम गर्न थालिएकाले आन्तरिक पर्यटकको आकर्षण पनि बढ्दै गएको स्थानीयवासीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७