सरकार गठन र सत्ता समीकरणबारे खुमलटारमा प्रचण्ड र नारायणकाजीबीच छलफल


२ पुष २०७९, शनिबार
prachanda and narayankaji

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ । आज (शनिबार) बिहान खुमलटारस्थित प्रचण्ड निवासमा दुई शीर्ष नेताबीच नयाँ सरकार गठन, सत्ता समीकरण र भावी रणनीतिबारेमा छलफल भएको हो ।

प्रचण्ड र श्रेष्ठबीचको भेटमा माओवादी केन्द्रलाई लाभ हुने गरी सत्ता समीकरण निर्माण गर्नुपर्ने विषयमा चर्चा भएको स्रोतले जानकारी दिएको छ । भेटमा माओवादी केन्द्रले सत्ता समीकरणको विषयमा एमाले र कांग्रेस दुवै पार्टीसँग छलफल गरेर साथ लिनुपर्नेमा जोड रहेको छ ।

नेकपा एमाले सरकार गठनको विषयमा कांग्रेस–माओवादी दुवैसँग संवादमा रहँदै आएको छ । माओवादीले पहिलो प्राथमिकता सत्ता गठबन्धनलाई नै दिने तर कांग्रेस सहमतिमा नआएको खण्डमा एमालेलाई साथ लिएर अगाडि बढ्ने तयारी समेत गरेको माओवादीका एक शीर्ष नेताले जानकारी दिए । माओवादी केन्द्र पदाधिकारी बैठकपछि सरकार गठनका लागि सबै विकल्पमा खुला रहेको र सरकार निर्माणका लागि एमालेसँग समेत सहकार्य हुन सक्ने बताएपछि कांग्रेसमा तरंग उत्पन्न भएको थियो ।

कांग्रेसले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने तयारी गरेको संकेत पाएपछि सत्तारुढ दलकै माओवादी केन्द्रका महासचिव देव गुरुङले सार्वजनिक रुपमा आपत्ति जनाएका छन् । सत्ता गठबन्धनबाट सरकार बनाउने निर्णय गरेपनि हालसम्म भागबण्डाबारे दलहरुबीच छलफल हुन सकेको छैन ।

पछिल्लो समयमा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफैं राख्ने आशय बुझेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झस्किएका छन् । प्रचण्ड गठबन्धनको तर्फबाट पहिलो चरणमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने पक्षमा वकालत गरिरहेका छन् ।

हालको गठबन्धनबाट सम्भव नभए एमालेलाई साथमा लिएर आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने माओवादीका दोस्रो तहका नेताहरुले सुझाव दिएका छन् । श्रेष्ठसँगको छलफल पश्चात प्रचण्ड बालुवाटारमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न गएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७