मानव बेचविखन मुद्दामा ३० वर्ष कैद फैसला भएका व्यक्ति ६ बर्षपछि पक्राउ

दुई महिलालाई यसरी बेचे भारतमा


६ पुष २०७९, बुधबार
arrest

रुपन्देही । मानव बेचविखन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ घर भएका मिनबहादुर विक उर्फ आरने माइला छन् । महिलालाई भारतमा बेचविखन गरेको आरोपमा उनीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले ३० वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने फैसला गरेको छ ।

२०७४ असारमा मुद्दा फैसला भएसँगै उनी फरार थिए । अदालतले पीडित महिलालाई १ लाख २५ हजार क्षतिपूर्ति भराउन आदेश गरेको थियो । ६ वर्षदेखि फरार मिनबहादुरलाई इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनी नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ पछि जिल्ला अदालत कपिलवस्तुको आदेशले उनलाई कारागार चलान गरिएको छ ।

घटना विवरणअनुसार २०७० कात्तिकमा आर्थिक अवस्था कमजोर भई ज्याला मजदुरी गरी जीवन निर्वाह गरिरहेका दुई महिलालाई सालिग्राम विकले राम्रो काम र राम्रो पैसा कमाइन्छ भन्दै कपिलवस्तुको चन्द्रौटाबाट लिएर हिँडेका थिए । सोही दिन राति दाङको भालुवाङस्थित होटेलमा राखेर सालिकरामले आरने माइला भन्ने मीनबहादुर विक कामीलाई बोलाएका थिए । उनले मीनबहादुरलाई यो मेरो भतिजो हो, तिमीहरू यसैसँग जानु राम्रो खाना, पैसा र काम लगाइदिन्छ भनेर दुई जना महिला जिम्मा लगाएका थिए।

त्यसपछि मीनबहादुरले जागिर, खाना र लवाइखवाइको प्रलोभनका कुरा सुनाउँदै त्यहाँबाट बस चढाई नेपालगञ्ज हुँदै रुपैडिया नाकाबाट भारतको पन्जाब पु¥याएका थिए । पन्जाबस्थित जालन्धर सहरको फिरोजपुरमा लगी बग्गी नाम गरेको मानिसलाई देखाई तिमीहरूको मालिक यही हो, कामकाज गर्न तयार हुनू भन्दै जबरजस्ती सादा कागजमा ल्याप्चे लगाइएको थियो । त्यसपछि काम पक्का भयो भनी मीनबहादुरले गोप्य रूपमा बग्गीलाई भेटी पीडित महिलालाई छाडी आफू बेपत्ता भएका थिए ।

फिरोजपुरका बग्गीले अर्धनग्न महिलाहरू नाच्ने होटलमा लगेर तिमीहरू पनि भोलिदेखि यसैगरी नाच्नुपर्छ भने । त्यहाँ अन्य मानिसले पीडित महिलाहरूको शरीर सुमसम्याउन लाग्दा किन यसो गरेको भन्दा तिमिहरूलाई मैले पैसा दिएर किनेको हो, तिम्रो मानिसले मसँगबाट रुपैयाँ लगेको हो भनेपछि मात्रै महिलाहरूले आफूहरू बेचिएको थाहा पाएका थिए । त्यसको १५÷२० दिनपछि कोही नभएको मौका छोपी दुई महिला भागेर कपिलवस्तुको कृष्णनगर नाकामा रहेको पुनःस्थापना गृहको संरक्षणमा आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७