डोटीमा सुन्तला बिक्रीबाट मनग्य आम्दानी


३० पुष २०७९, शनिबार
Orange syangja
फाइल् फोटो

डोटी । डोटीका किसानले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दैआएका छन् । जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर तथा स्थानीय बजारमा सुन्तला बिक्री गरी आय आर्जन गर्दै आएका छन् ।

सुन्तला सरदर प्रतिकिलो रु ७० देखि रु ८० मा बिक्री भइरहेको किसानले बताएका छन् । जिल्लाभित्र तथा जिल्ला बाहिरका व्यापारी कृषकको बारीसम्म सुन्तला खरिद गर्न आउने गरेका कारण बजारको समस्या नभएको जोरायल गाउँपालिका–६ का वडाध्यक्ष गणेश बोहराले बताए ।

‘जोरायलबाट मात्र यस वर्ष रु दुई करोडको सुन्तला बिक्री भएको छ’, उनले भने । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए । जिल्लामा गत आवमा २८५ हेक्टरमा दुई हजार पाँच सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस वर्ष तीन सय १३ हेक्टरमा गरिएको खेतीबाट तीन हजार मेट्रिक टन सुन्तला उत्पादन भएको उनले बताए ।

जेरायल गाउँपालिका–१ को निरौली, बडीकेदार गाउँपालिकाको पातल, मुडा, रजेडा, छेडा, टिमिट्ट लाना, खेतालीलगायतका स्थानमा सुन्तला उत्पादन अत्यधिक मात्रामा हुने गरेको छ । बडीकेदार गाउँपालिका–१ पातलबाट करिब ५० लाख बराबरको सुन्तला बिक्री भएको समैजी कृषि समूहका अध्यक्ष टेकबहादुर क्षेडालले बताए । यसपाली प्रतिकिलो रु ७० का दरले सुन्तला बिक्री भएको छ ।

बडीकेदार–१ वडाध्यक्ष डबल बोहरा सुन्तला खेती हुने गाउँ सडक सञ्जालसित जोडिएका बताउँछन् । ‘गत वर्ष भन्दा सुन्तला उत्पादन बढेको छ, मूल्य पनि राम्रै पाइएको छ’, उनले भने । सडक सुविधासँगै सुन्तलाले सहजरुपमा बजार र उचित मूल्य पाउन थालेपछि सुन्तला खेतीमा किसानको आकर्षण बढ्न थालेको छ ।

सुन्तला बिक्रीबाट यस वर्ष रु १० लाखसम्म आम्दानी भएको बडीकेदार–४ का चक्र जेठराले बताए । उनी १० वर्षदेखि सुन्तला खेती गर्दै आएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनमा समेटिए पनि सुविधा पाउन नसकेको यहाँका कृषकले गुनासो गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७