आफ्नै कम्पनीको ठेक्का म्याद थप्न निवेदन


१२ माघ २०७९, बिहीबार
Bikram pandey sahari bikash mantri

काठमाडौं । सहरी विकासमन्त्री विक्रम पाण्डेले आफ्नो कम्पनीको म्याद थप गर्न आफैंले सम्हालेको मन्त्रालयमा निवेदन दिएका छन् । ३ अर्ब रुपैयाँका दुईवटा सरकारी ठेक्काकोे म्याद थप गर्न पाण्डे मालिक रहेको कालिका कन्स्ट्रक्सन प्रालिले मन्त्रालयमा निवेदन दिएको हो ।

मन्त्रालय स्रोतका अनुसार कालिकाले धनगढी उपमहानगरपालिकाभित्र सडक निर्माण र वाग्मती सौन्दर्यकरणको काममा म्याद थप गर्न प्रस्ताव गर्दै सहरी विकास तथा भवन निर्माण विभागमा फाइल पठाएको छ ।

२०७७ सालमा कालिकाले धनगढी उपमहानगरपालिकाभित्र करिब १० किलोमिटर सडक र नाला बनाउन ७५ करोड रूपैयाँको ठेक्का लिएको थियो। सम्झौताअनुसार गत साउनमै सबै काम सक्नुपथ्र्यो तर अहिलेसम्म धनगढीमा बाटो भत्काउने काम मात्र भइरहेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताए । ‘अहिले बजार क्षेत्रमा बिजोग छ । जताततै धुलाम्मे छ । नाला छैन । अस्तव्यस्त छ’, हमालले भने ।

हमालले समयमै काम पूरा गर्न पटक पटक सहरी विकास मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक र आयोजना प्रमुखलाई भने पनि सुनुवाइ नभएको बताए । यही कामका लागि आफू धेरै पटक काठमाडौं धाउनुपरेको उनले सुनाए । ‘जनताले मसँग गुनासो गर्छन् । मैले मन्त्रालयलाई भनेको छु । तर काम हुँदैन । यो त अति भयो,’ हमालले भने ।

भवन विभाग स्रोतका अनुसार धनगढी सडकको हकमा जेठसम्म म्याद थप गर्न कालिकाले विभागमा प्रस्ताव पठाएको छ । ‘मन्त्री ज्यूकै कम्पनीले निवेदन दिएपछि समयमा काम नभएको विषयमा कारण सोध्ने कुरा नै भएन । उहाँले भनेअनुसार नै म्याद थप हुने निश्चित छ,’ मन्त्रालयका एक उच्च कर्मचारीले भने, ‘पहुँचवाला ठेकेदार नभएको भए म्याद थप गर्नुपर्नाको कारण र औचित्य सोध्नुपथ्र्यो तर ठेकेदार पहुँचवाल भएपछि सामान्य सोधपुछ समेत हुँदैन ।’

क्षेत्रीय सहरी विकास आयोजनाका उपनिर्देशक प्रवीण शाहले कालिकाले सुरु गरेकोे काममा अहिलेसम्म ६० प्रतिशत प्रगति भएको बताए । कोरोनालगायत विभिन्न कारणले तोकिएको समयभित्र काम हुन नसकेको उनको भनाइ छ । एसियाली विकास बैंकको सहयोगमा सहरी विकास मन्त्रालय मातहतको क्षेत्रीय सहरी विकास आयोजनाले २०७७ देखि ८ वटा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सहरी विकासका लागि विभिन्न आयोजना सुरु गरेको छ । जसअनुसार विराटनगर, वीरगन्ज, नेपालगन्ज, सिद्धार्थनगर, धनगढी, गोदावरी, शुक्लाफाँट (कञ्चनपुर) र भिमदत्त (कञ्चनपुर) मा सडक, नाला निर्माणलगायतका काम सुरु गरिएको हो ।

अहिले आठ वटै पालिकामा समग्र कामको प्रगति करिब ७० प्रतिशत पुगेको शाहको भनाइ छ । धनगढीको आयोजना क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन एकाइ धनगढीले हेरिरहेको छ । आफूले बनाउने १० किलोमिटर सडकको कुनै ठाउँमा १२ मिटर र कुनै ठाउँमा २४ मिटर चौडा गर्ने प्रतिबद्धता कालिकाले गरेको थियो। १० किलोमिटरमा कतै पनि पिच भएको छैन । सडक वरिपरि नाला नबन्दा वर्षायाममा पानी जमेर अस्तव्यस्त हुने मेयर शाहले बताए ।

सहरी विकास मन्त्रालयका अनुसार कालिकाले कैलालीको गोदावरी नगरपालिकामा पनि सडक निर्माणको ठेक्का पाएको छ । विभागका अनुसार गोदावरीमा पनि तोकिएको समयभित्र काम भएको छैन। अहिलेसम्म गोदावरीमा ७० प्रतिशतजति काम भएको विभागको भनाइ छ । यसैगरी कालिका कन्स्ट्रक्सनले करिब २ अर्ब रूपैयाँमा वाग्मती नदीको गोकर्णदेखि तिलगंगासम्म सौन्दर्यकरण गर्न २०७४ सालमा ठेक्का पाएको थियो ।

ठेक्काअनुसार कालिकाले काम गरेको भए दुई वर्षपहिले नै सौन्दर्यकरणको काम सक्नुपथ्र्यो । तर कालिकाले समयमा काम नसकेर म्याद थप गर्न सहरी विकास मन्त्रालयमा फाइल पठाएको छ । मन्त्रालय स्रोतका अनुसार वाग्मतीको सौन्दर्यकरणको विषयमा पनि कालिकाले भनेअनुसार नै म्याद थप हुने निश्चित छ ।

मन्त्रालय स्रोतका अनुसार २०७५ सालमा करिब २ अर्ब रूपैयाँमा नक्खु खोला कोरिडोर निर्माण गर्न सहरी विकास तथा भवन निर्माण विभागले कालिका कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो, जहाँ करिब आधा काम पूरा भएको छ । स्रोतका अनुसार कालिकाले करिब ३ दर्जन आयोजनाको ठेक्का लिएको छ । कालिकाले ठेक्का पाएका अधिकांश आयोजनाको काम समयमा पूरा गरेको छैन । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७