‘लोकसेवा पास गर्नु चुनौतीपूर्ण नै छ’


१२ माघ २०७९, बिहीबार
anil kirati scaled

–   अनिल किराती

लोकसेवा पास गर्नु चुनौतीपूर्ण छ नै । सेवामा कार्यरतलाई त माथिल्लो तह वा पदमा पास हुनु झन् तनावपूर्ण नै हुन्छ ।

आफूसँगको साथीहरू फटाफट पास भएर जानु, गत सालको प्रश्न पत्र हेरेर थुक्का मैले नि परीक्षा देको’भा पास हुन्थे नि भन्ने लाग्नु, परीक्षा दिए पनि अलि मज्जाले पढ्नु पर्थ्यो रैछ भन्ने लाग्नु, पास भएका साथीहरूले निकै सिनियर भएर बोल्नु वा व्यवहार गर्नु, आफूभन्दा कमजोर लाग्ने साथीहरुको आर्टिकल पढेर परीक्षाको तयारी गर्नु,  अलि मनले जितेका साथीहरूले तेरो साथी चैँ उपल्लो पदमा पुगिसके तँ चाहिँ केमा अल्मलिएको हौ भन्नु, कार्यालयमा सहपाठीहरुले पास भइसकेको साथीहरुको तारिफ गर्नु, घरमा हरेक समय परीक्षा-परीक्षा भनेर भन्दा-भन्दा अप्ठ्यारो लाग्नु जस्ता विषयले हो तनाव दिने भनेको । कार्यालयको काम, हाकिमको पेलान, घर परिवारसँगको समय जस्ता पक्षले पनि चिन्ता थप्छ । यस्तै तनाव र चिन्ता हुन चुनौती । यै चुनौतीलाई अवसरमा बदल्नु झन् ठुलो चुनौती ।

यी चुनौतीलाई अवसरमा बदल्न पढियो ।

घरमा दाई भाउजु, बहिनिहरु, आपाआमा, केटाकेटीहरू धेरै नै भएकोले मैले घरको काम खासै गर्नुपर्दैनथ्यो । छोरी सिलिमा (पिकुं), आपा अर्थात् मसँग खेल्न जिस्कन हुरुक्कै हुने । नक्कु (गोमा) को पनि पढाई चौथो सेमेष्टर आरआर क्याम्पसमा । तथापि मलाई पढ्ने समय थियो । अफिसबाट फर्किदा तरकारी किनेर ल्याउने बाहेक अरु मैले काम गर्नुपरेन । बिहान बेलुका लेख्ने पढ्ने, दिउँसो अफिस जाने ।

लिखित परीक्षाको बेलामा भने नक्कु र पिकुंलाई बानेश्वर उषा छ्यामाकोमा झन्डै १ महिना बस्न पठाएँ । यो बेलामा खुब ध्यान दिएर लेख्ने मौका पाएको हो मैले । पढाई पुग्दै गएपछि लेख्न पनि मजा लान थालेको थियो ।

परीक्षा नजिकै जाँदा चैतन्यले हरेक शनिवार लिने नमुना परीक्षामा सहभागी भएँ । एक पटकको ५०० रुपैयाँ लिन्थ्यो । जम्मा ५ पटक परीक्षा लेखे त्यहाँ । ४६ देखि ५४ सम्म नम्बर प्राप्त गर्दा पास गर्न सकिन्छ भन्ने आत्मविश्वास जागेको हो मलाई । चैतन्यको उत्तर पुस्तिकामा आएको नम्बर र फिडब्याकले पनि लेखन ढाँचा तयारीमा सहयोग भयो ।

राष्ट्रिय योजना आयोगमा काम गर्दै नै पढेको हो । २०४ नम्बर कोठाको सबैभन्दा सानो टेबल र सानो पार्टीसन मेरो कार्यस्थल थियो । अध्ययन स्थल, लेखन स्थल, छलफल स्थल पनि त्यै । सानो टेबलको पुरानो डेक्सटप मेरो अध्ययन सामाग्री भण्डारण गर्ने स्थल थियो ।

कुनै इन्स्टिच्युटमा पैसै तिरेर भने ट्युसन पढिन मैले । श्रीकुमार दाईको अगुवाइमा अनलाइनमा Knowledge Sharing Group (KSG) बनायौँ । यसैमा उपसचिवको सिलेबसमा आधारित प्रेजेन्टेसन र छलफल गरेर पढ्यौं ।

कोठाका मानबहादुर मगर सर, खड्गराज दाई, शारदा र सीता म्याडम अनि प्रशासनको सुरज दाई, अन्य शाखाका सोना, बविता, विमला, सरिता म्याडमहरु, गुणराज, मित्र, तीर्थ, रामहरि, राममणि, कैलाश सरहरुसँग छलफल गर्दै पढियो । एक किसिमले ग्रुप स्टडी जस्तो थियो त्यो हाम्रो छलफल ।

कुनै इन्स्टिच्युटमा पैसै तिरेर भने ट्युसन पढिन मैले । श्रीकुमार दाईको अगुवाइमा अनलाइनमा Knowledge Sharing Group (KSG) बनायौँ । यसैमा उपसचिवको सिलेबसमा आधारित प्रेजेन्टेसन र छलफल गरेर पढ्यौं । सूरुमा हामी राईहरुमात्रै सहभागी हुने भनिएकोमा पछि आदिवासी जनजातिको बृहत् समूह बन्यो । एक पटक १३५ जना सम्म भएका थियौँ । पछि सक्रियहरू मात्रै राखेर ७० जना र पछि अझै २०/२२ जनामा सीमित भयो । यसमा हरेकले न्यूनतम एउटा विषयमा प्रस्तुतीकरण दिने व्यवस्था थियो । यसरी पढ्दा हरेक टपिक्सको अवधारणागत जानकारी प्राप्त हन्थ्यो र सम्भावित प्रश्न तथा इस्युमा अन्तर्क्रिया पनि । यो ग्रुपबाट पहिलो साल कुमानसिहं गुरुङ र छिरिङ लामाले निकालेपछि यो ग्रुपको प्रभावकारिता पनि देखियो । दोस्रो पटक म लगायत मानबहादुर मगर, जागुराम चौधरी, राकेश गुरुङ, कोपिला राई, गणेशमान सिं राई गरी ६ जना सिफारिस भयौँ ।

मैले पढ्ने भनेको आर्टिकल हो । म किताब पढन्ते नै हुँ तथापि उपसचिवको तयारीमा भने किताब भन्दा बढी लेखहरू पढे । किताब पनि पढे तर लेखहरूको सङ्ग्रह भएको किताब जुन किताब विभिन्न मन्त्रालय तथा संघ संस्थाले वार्षिक रूपमा प्रकाशन गरेका हुन्थे । बढी मात्रामा अनलाइनमा आएका, पत्रिकामा प्रकाशित भएका र वार्षिक मुखपत्रहरुमा छापिएका लेखहरू मेरो रोजाइमा परे । अवधारणागत पक्षको जानकारी भएपछि त्यस्ता लेखहरूबाट आलोचनात्मक दृष्टिकोण निर्माणमा निकै सहयोग मिलेको आभास भयो मलाई । सोच्ने फरक तरिकाको लागि कि सम्बन्धित विषयमा काम गरेको हुनुपर्छ कि त विषय विज्ञको कुरा बुझ्नुपर्छ । अब सबै क्षेत्रमा काम गर्न त सकिने अवस्था छैन तर पढ्न सकिन्छ । पढे । पढ्ने बानी गरे ।

पढाइको अर्को कुरा गर्दा विषयगत कार्यलयहरुको रिपोर्टहरू पनि महत्त्वपूर्ण अध्ययन सामाग्री हो । म मान्छु र मैले चाहिँ यै माने । मुख्य अध्ययन सामाग्री त नेपालको संविधान, बजेट, १५ औँ आवधिक योजना, आर्थिक सर्वेक्षण, निजामती सेवा ऐन आदि नै हुन । 

पढाइको अर्को कुरा गर्दा विषयगत कार्यलयहरुको रिपोर्टहरू पनि महत्त्वपूर्ण अध्ययन सामाग्री हो । म मान्छु र मैले चाहिँ यै माने । मुख्य अध्ययन सामाग्री त नेपालको संविधान, बजेट, १५ औँ आवधिक योजना, आर्थिक सर्वेक्षण, निजामती सेवा ऐन आदि नै हुन । 

लोकसेवा पास गर्नु पढेर मात्रै होइन । लेखेर हो । लेख्नु एक प्राविधिक विषय हो । लेखाइमा अक्षर, फर्मेट, कन्टेन्ट, कन्सेप्ट, कन्टेक्स्ट सबै मिल्नुपर्छ । समय व्यवस्थापन मुख्य कुरा हो । प्रश्नको मर्म र लेखाइको तादाम्यता मिलाउनु नै पास हुनुको अर्को महत्त्वपूर्ण पक्ष हो । यी सबैको लागि अत्यधिक पढेको हुनुपर्छ । पढेको कुरालाई लेखेर अभ्यास गरेको हुनुपर्छ । लेखेको उतरलाई आफै र अरु कसैमार्फत परीक्षण गराएको हुनुपर्छ । परीक्षणबाट प्राप्त सुझावलाई अर्को उत्तरमा प्रयोग गरेको हुनुपर्छ । र मैले यी सबै गरे ।

अझ तयारीको कुरा गर्दा पढ्दै लेख्दै गरे । नोट नबनाए पनि टिपोट चाहिँ गरेरै पढेँ । पढेको, सुनेको, कसैले भनेको, पत्रिकामा प्रकाशित भएको महत्त्वपूर्ण विषयलाई टिपोट गर्ने मेरो बानी । यसले पनि मलाई सहयोग गर्‍यो । जानेको कुरा शेयर गर्ने बानीले पनि सम्बन्धित विषयमा आत्मविश्वास बढाउन सहयोग गर्‍यो ।

यसरी तयारी गरेकोले नै उपसचिवको दोस्रो पटकको परीक्षामा दोस्रो लटमा म सिफारिस भएको हुँ ।

पहिलो पटक आर्थिक वर्ष २०७६।७७ को विज्ञापनको परीक्षा लेखेको थिएँ । सिधा कुरा सिफारिस हुन सकिन । लिखितमै नाम निस्केन । KOICA को स्कोलरसिपमा कोरियामा मास्टर्स पढिरहेको बेला बिदामा आएर लेखेँ । उताको तेस्रो सेमेष्टर र थेसिस सुरु भएको बेला थियो । यताको पढाइ खासै थिएन । तर आन्तरिकमा ४१, खुल्लामा १० र आदिवासीमा २ सिट खुलेकोले त्यसैको लोभमा कतै निस्की पो हाल्छ कि भनेर लेख्न आएको थिए । प्रश्नै नबुझेर उत्तर लेखेछु, पछि पो थाहा पाएँ । र कतै पनि निस्केन ।

दोस्रो पटक आर्थिक वर्ष २०७७।७८ को विज्ञापनको परीक्षा लेखेको हो । आन्तरिक तर्फ २५, खुल्लामा ७ र आदिवासीमा २ सिट थियो । लिखितमा तीनै तिर नाम निस्कियो । आन्तरिकमा सिफारिस हुन सकिँन । खुल्लामा सिफारिस भएँ ।

शाखा अधिकृतको रूपमा ९ वर्ष काम गरे । यति खेरसम्म पाँचौँ परीक्षाको अनुभव हुनुपर्ने मेरो । तर भएन ।

परीक्षा दिन मिल्ने पहिलो वर्ष अर्थात् अधिकृत भएको चौथो वर्ष दिक्तेल नगरपालिकामा कार्यकारी अधिकृतको रूपमा कार्यरत थिएँ । अधिकृत हुनुको मज्जा लिइरहेको थिएँ । काममा मस्त रमाएर बसेको थिएँ । आफ्नै जिल्ला भएर धेरै कुरामा सहज पनि थियो । उमेर सानै छ, अहिले नै हतार किन ? भन्ने सोच पनि भयो । परीक्षाको फर्म नै भरिन । परीक्षाको दिन नगर सभाको तयारीमा थिएँ म र साथीहरू परीक्षा हलमा । त्यही साल केही ब्याजी साथीहरू सिफारिस नै भए ।

दोस्रो वर्ष, हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिएँ । लामो समयपछि स्थानीय तह जनप्रतिनिधियुक्त भएको थियो । नगरपालिकाको पहिलो प्रमुख प्रशासकीय अधिकृतको रूपमा थिएँ । कर्मचारी कम थिए । नगरपालिका नयाँ भएकोले कामहरू अत्यधिक थियो । यसैमा रमाएर बसेँ । परीक्षाको फर्म सम्म चाहिँ भरे । परीक्षा दिन काठमाडौं नै आइन । परीक्षाको दिन नगरको योजनाको अनुगमनमा थिएँ मेयर र उपमेयरसँग । त्यो साल पनि केही साथीहरू सिफारिस भए ।

अब चाहिँ परीक्षा दिनै पर्छ भन्ने मनमा लाग्यो । तेस्रो वर्ष अर्थात् अधिकृत भएको छैटौँ वर्ष सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा भयो । योजना शाखामा पदस्थापन भयो मेरो । काम गर्दागर्दै राम्रै तयारी गरिरहेको थिए । सङ्घीयता कार्यान्वयनको लागि कर्मचारी समायोजन ऐन जारी भयो । विज्ञापन खुलेन । परीक्षा भएन ।

कर्मचारी समायोजनले निजामती सेवा विभाजित थियो । कर्मचारीमा नैराश्य थियो भने चौथो वर्ष पनि लोकसेवा आयोग खुल्ने नखुल्ने टुङ्गो थिएन । कोरियाको KOICA को छात्रवृत्ति खुल्यो । अप्लाई गरे । प्रतिस्पर्धामा उत्कृष्ट भएँ । र कोरियामा Global MPA गर्न गएँ । कोरियाको संख्युनक्वान विश्वविद्यालयमा पढ्दा पढ्नै विज्ञापन खुल्यो । अलि माथि उल्लेख गरेको छु – बिदा लिएर परीक्षामा सहभागी हुन नेपाल आएँ । परीक्षा लेख्ने नाममा अनुभव मात्रै प्राप्त भो । नाम निस्केन ।

र पाँचौँ वर्ष उपसचिवमा सिफारिस भएर यी कुरा लेखिरहेको छु । यो पटक पनि दोस्रो लटमा सिफारिस भएँ । आन्तरिकमा २५ जनाको सिटमा ३२ जनाको नाम थियो लिखितमा । २५ जनामा त पर्छु हौ जस्तो नलागेको कहाँ हो र ? तर वैकल्पिकको पनि ५ नम्बरमा परेछु । अर्थात् ३२ मा ३२ औँ । किनकि २५ जना प्रशासनमा, १ जना राजश्वमा, १ जना अन्तर्वार्तामा सहभागी नै भएन बाँकी ५ जना र म त्यसको ५ औँ । यतिको पीडा अरुबेला हुन्न । धन्न खुल्लामा छ, अझ आदिवासीमा पनि छ भन्ने ठाउँ थियो । शुभेच्छुक सबैले त्यै कुरा गरे । चित बुझाउने प्रयत्न गरे । यसरी पहिलो लट बिग्रियो ।

पाँचौँ वर्ष उपसचिवमा सिफारिस भएर यी कुरा लेखिरहेको छु । यो पटक पनि दोस्रो लटमा सिफारिस भएँ । आन्तरिकमा २५ जनाको सिटमा ३२ जनाको नाम थियो लिखितमा । २५ जनामा त पर्छु हौ जस्तो नलागेको कहाँ हो र ? तर वैकल्पिकको पनि ५ नम्बरमा परेछु ।

दोस्रो लटमा खुल्ला तर्फ र आदिवासी तर्फ थियो । जसरी पनि कटाउनुपर्छ भन्ने प्रेसर थियो र स्वाभाविक पनि थियो त्यो कुरा । गत सालबाट प्रशासन सेवामा सूरु भएको Inbasket परीक्षाले निकै तलमाथि पार्छ भन्ने त प्रमाणित गरिसकेको थियो । तर खुल्लामा आन्तरिकको भन्दा अलि राम्रो गरेको थिएँ । अन्तरवार्ता पनि सन्तोषजनक नै भएको थियो । तथापि आन्तरिक भन्दा खुल्लाको रिजल्ट आउने बेला निकै डराएको थिएँ । खुल्लाको पनि खुल्लामै नाम निस्कियो । तनावमुक्त भएँ ।

मुख्य कुरा म पास हुनुभन्दा अगाडि मेरो अभ्यासको कापी हेर्ने, मसँग अन्तर्क्रिया गर्ने, मेरो टिपोट देख्ने सर म्याडम तथा साथीहरूले “यो वर्ष तिमी/ तपाई सिधै पास” भनिरहनुहुन्थ्यो । यो कुराले आत्मविश्वास बढाएको थियो मेरो । अधिकृत पास हुनुभन्दा अगाडि पनि यस्तो कमेन्ट अत्यधिक आएको थियो । त्यतिखेर मैले ८ ओटा सेटमा १ चाहिँ मेरै हो भनेर साथीहरुलाई भनेको पनि थिएँ । पछि त्यस्तै पनि भाथ्यो ।

२०६९ असोज १७ मा शाखा अधिकृतमा सिफारिस भएपछि सूरुमै जुम्लाको निर्वाचन कार्यालय, पछि ओखलढुङ्गाको निर्वाचन अनि दिक्तेल नगरपालिका हुँदै पछिल्लो समय राष्ट्रिय योजना आयोगमा कार्यरत थिएँ । भूगोलको लामो अनुभव थियो मसँग । फाइल बढुवालाई नम्बर पुगिसकेको थियो तर पालो आउन चाहिँ अझै ५ वर्ष जति थियो । तसर्थ पनि लेखेरै नाम निकाल्नुपर्ने अवस्था थियो । 

हामी २७ BAT का प्रशासनका जम्मा ६३ जना अधिकृत मध्ये १३/१४ जना उपसचिव र ३ जना सहसचिवमा सिफारिस भइसकेको थियो । बाँकी पनि निकै मेहनत गरिरहेका थिए । यसले गर्दा पनि उपसचिवमा नाम निकाल्नुपर्ने अवस्था थियो । फेरि जुनियर ब्याचका अधिकृतहरु अत्यधिक सिफारिस भइसकेका थिए ।

सुरुमा लोकसेवा पास गर्नु चुनौतीपूर्ण छ भनेको छु त्यो भन्दा धेरै ठुलो चुनौती हो स्थानीय तहमा काम गर्नु र त्यो भन्दा ठुलो अवसर पनि हो केही काम गर्छु भन्नेको लागि । मेरो लागि पनि यै हो ।

यसरी दृश्य अदृश्य चुनौतिहरुको बीच म उपसचिवमा सिफारिस भएँ । अबको यात्रा झन् चुनौतीपूर्ण छ, थाहा छ । र म अवसरको रूपमा लिन्छु । लिइरहेको छु । लिइरहन्छु ।

अहिले त उपसचिव भएको १ वर्ष भइसक्यो । १ वर्ष देखि उदयपुरको कटारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिरहेको छु । पास गर्न जति पनि पढियो ती सबैलाई काममा रुपान्तरण गर्न यो उपयुक्त ठाउँ लागेर रोजेर नै स्थानीय तहमा पदस्थापन भएको हुँ । र यो अर्को ठुलो चुनौती हो ।

सुरुमा लोकसेवा पास गर्नु चुनौतीपूर्ण छ भनेको छु त्यो भन्दा धेरै ठुलो चुनौती हो स्थानीय तहमा काम गर्नु र त्यो भन्दा ठुलो अवसर पनि हो केही काम गर्छु भन्नेको लागि । मेरो लागि पनि यै हो ।

(लेखक किरातीले उपसचिव हुनुभएको १ वर्षमा लेख्नुभएको लोकसेवा संस्मरण)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७