सवारी दुर्घटना घटाउन कार्यदल गठन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘सवारी प्रदूषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरण’ बारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको निर्णयअनुसार गठित उक्त सात सदस्यीय कार्यदलको संयोजक पूर्व सचिव शरदचन्द्र पौडेल छन् ।
कार्यदलले अध्ययनपछि प्रतिवेदन पेस गर्नेछ । कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा. पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इन्जिनियर विजय गौतम सदस्य छन् ।
यातायात व्यवसायी महासंघका अध्यक्ष वा प्रतिनिधिलाई समेत सदस्य तोकिएको उक्त कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक सदस्य सचिव छन् ।