एक वर्षदेखि रिक्त राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ मा


१३ माघ २०७९, शुक्रबार
Samsad rastriya sabha new scaled

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षको पद रिक्त भएको एक वर्षपछि निर्वाचन हुने भएको छ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले माघ २३ गते बिहान ११ः५९ बजेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् । उनले उपाध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयका महासचिव डा. भरत गौतमलाई निर्देशन दिएका छन् ।

गत वर्ष फागुन २० मा शशिकला दाहालको राष्ट्रिय सभा सदस्यको चार वर्षीय कार्यकाल सकिएपछि राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त थियो । अब राष्ट्रिय सभाका सदस्यहरूमध्येबाट उपाध्यक्ष चयन हुनेछ ।

राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा एक वर्षदेखि उक्त पद रिक्त थियो । राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ मा उपाध्यक्ष निर्वाचनको व्यवस्था छ । जसको नियम १ मा भनिएको छ, ’उपाध्यक्षको निर्वाचन अध्यक्षले तोकेको दिन र समयमा हुनेछ ।’

अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूबीच कसलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने भन्ने सहमति नभएकाले निर्वाचन मिति र समय नतोकेको बताउने गरेका थिए । हाल सत्ता गठबन्धनमा माओवादी केन्द्रबाट राष्ट्रिय सभाको उपाध्यक्ष बनाउने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७