प्रचण्डलाई पार्टी नेताहरुको सुझाव : गृहमन्त्री अब रास्वपालाई नदिउँ


१६ माघ २०७९, सोमबार
Prachanda 16 scaled
फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा गृह मन्त्रालय पुनः राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन नहुने तर्क उठेको छ । माओवादीका धेरैजसो नेताहरु गृह मन्त्रालय आफैंले राख्नुपर्ने पक्षमा वकालत गरिरहेका छन् । माओवादीले स्थायी कमिटी बैठक सारेर आज (सोमबार) पदाधिकारी बैठक बोलाएको थियो ।

बिहान ११ बजेका लागि बोलाइएको पदाधिकारी बैठकअघि प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका केही पदाधिकारीसँग छलफल गरेका थिए । छलफलमा उनले गृह मन्त्रालयबारे के गर्ने भनेर पार्टीका नेताहरुसँग सुझाव मागेका थिए । पदाधिकारी बैठक सकिएपछि गृह मन्त्री को भन्ने प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘बनेपछि थाहा हुने’ जवाफ दिए । उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महाराले गृहमन्त्री को बन्ने भन्ने विषयमा सरकारले निर्णय गर्ने बताए ।

बुधबार बस्ने स्थायी कमिटी बैठकमा त्यसबारे छलफल हुने उनको भनाइ छ । माओवादीका नेताहरु गृहमन्त्री छाड्न नहुने पक्षमा छन् । ‘अहिलेको अवस्थामा गृह मन्त्री छाड्नु हुँदैन । गृह मन्त्रालय प्रधानमन्त्रीकै पार्टीमा रहनु पर्छ । त्यहीअनुसार कोर्ष अघि बढ्ने देखिन्छ’, बैठकपछि एक पदाधिकारीले भने ।

अर्का एक नेता गृह मन्त्रालय रास्वपालाई नभएर रवि लामिछानेका लागि दिइएकाले अब पार्टीले नै राख्नुपर्ने बताउँछन् । रवि गैर सांसद भएकाले उपप्रधानसहित गृहमन्त्री बनाउँदा सरकारको छविमा प्रश्न उठ्ने उनको भनाइ छ ।

‘गृह मन्त्रालय रास्वपालाई भनेर निर्णय भएको थिएन । रविलाई भनेर दिइएको थियो । नागरिकता विवादमा उनले सांसद पद गुमाइसकेका छन् । गैरसांसदलाई मन्त्री बनाउँदा राम्रो सन्देश जाँदैन । त्यसो त उनको मुद्दामा अझै के हुने भन्ने अन्यौलता नै छ’, ती नेताले भने, ‘अब रविलाई मन्त्री बनाउनु हुँदैन । गृह पार्टीले नै राख्नुपर्छ । यो विषय स्थायी कमिटीमा उठ्छ ।’ नागरिकता विवादमा रवि लामिछानेले सांसदसहित उपप्रधान तथा गृहमन्त्री गुमाएका थिए । उनले आइतबार पुनः नागरिकता लिएर पार्टीको सभापति बनिसकेका छन् ।

रास्वपाले गृह मन्त्रालय आफ्नै भागमा परेकाले अब दाबी गरिरहुन पर्ने बताइसकेको छ । तर, अबको गृहमन्त्रीबारे पात्रको विषयमा छलफल नभए पनि पार्टीले गृहमन्त्री पाउनुपर्ने पक्षमा माओवादी नेताहरु देखिएका हुन् । यसैबीच सत्ता साझेदार दल नेकपा एमालेले भने गृहमन्त्री रवि लामिछानेलाई नै बनाउनु पर्ने बताइरहेको छ । यस विषयमा प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओलीले समेत छलफल गरेका छन् । तर, यस विषयमा ठोस सहमति भने भइसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७