राष्ट्रिय कराते प्रतियोगिता : आर्मीलाई पहिलो स्वर्ण, पुलिसलाई थप ५ स्वर्ण


२८ माघ २०७९, शनिबार
Karate Tournament OfFYh99sLy

काठमाडौँ । त्रिभुवन आर्मी क्लबले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन पहिलो स्वर्ण पदक जितेको छ ।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार पुलिस क्लबले ५ र नेपाल एपीएफ क्लबले एउटा स्वर्ण पदक थपेको छ । पहिलो दिन बिहीबार पुलिस क्लबले ३ र एपीएफ क्लबले २ वटा स्वर्ण पदक हात पारेको हो । प्रतियोगितामा १२ इभेन्ट्सको छिनोफानो हुँदा पुलिसले सर्वाधिक ८, एपीएफले ३ र आर्मीले एउटा स्वर्ण पदक जितेको छ । प्रतियोगिताको अन्तिम दिन ५ वटा स्वर्ण पदकको छिननोफानो हुनेछ ।

प्रतियोगितामा अहिलेसम्म प्रदेशका टोलीले स्वर्ण पदक हात पारेका छैनन् । शुक्रबार पुरुष कुमुते ६० केजी तौल समूहमा एपीएफका मीनबहादुर तामाङले स्वर्ण, आर्मीका किर्तन महर्जनले रजत तथा लुम्बिनी प्रदेशका यामबहादुर समाल र गण्डकी प्रदेशका सक्षम लामाले कास्य पदक जिते ।

नेपाल पुलिस क्लबकी सोनी राई महिला कुमुते ६१ केजी तौल समूहमा स्वर्ण, एपीएफका रमिता माझीले रजत तथा आर्मीकी सानुमाया थिङ र मधेश प्रदेशकी खुस्बु खड्काले कास्य पदक हात पारे । पुलिसका सोनम लामाले पुरुष कुमुते ५५ केजी तौल समूहमा स्वर्ण, एपीएफका सुविन खत्रीले रजत तथा गण्डकीका अंकित गुरुङ र राम बिसीले कास्य पदक जिते ।

महिला ५० केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठ स्वर्ण पदक जितिन्। सुदूरपश्चिम प्रदेशकी गरिमा मल्लले रजत, पुलिसकी सविना श्रेष्ठ र बागमती प्रदेशकी सोनु श्रेष्ठले कास्य पदक प्राप्त गरे । पुरुष ५० केजी तौल समुहमा पुलिसका साजन मोक्तानले स्वर्ण पदक जिते। बागमतीका साइमन श्रेष्ठले रजत तथा प्रदेश १ का विशाल राई र आर्मीका विजय रिमालले कास्य पदक प्राप्त गरे ।

पुरुष कुमुते ८४ केजी तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण, एपीएफ क्लबका तेन्जिङ शेर्पाले रजत तथा आर्मीका विपिनराज सिंह दर्जी र लुम्बिनी प्रदेशका नारायण गुरुङले कास्य पदक प्राप्त गरे । पुलिसकी एरिका गुरङले महिला कुमुते ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितिन् । आर्मीका विभुषा थापाले रजत तथा रोजिता ढुंगेल र बागमती प्रदेशकी महिमा राईले कास्य पदक प्राप्त गरे ।

गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराते प्रतियोगिता शनिबार सम्म चल्नेछ । प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७