२२ वर्षदेखि सशस्त्र प्रहरी अस्थायी संरचनामा


२८ माघ २०७९, शनिबार
apf
फाइल फोटो

स्याङजा । २२ वर्षअघि निर्माण भएका अस्थायी संरचना । त्यहाँ निर्माण गरिएका बङ्कर । तिनै चुहिने टिनको छाना तथा जमिनभित्र निर्माण भएका बङ्करमा बस्दैअ आएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी ।

पानी परेका बेला चुहिएर कुलेसो काटेर तर्काएर निरन्तर जनताको सुरक्षाका लागि खटिँदै आएको छ सशस्त्र प्रहरी बल नेपाल ३० नं गुल्म वालिङ । जिल्ला सदरमुकामदेखि झन्डै २७ किलोमिटर टाढा रहेको जिल्लाकै ठूलो व्यापारिक केन्द्रका रुपमा उदाएको वालिङ बजारमा २०५८ सालमा अस्थायी क्याम्प खडा गरी सुरक्षा दिँदै आएको छ सशस्त्र प्रहरी बलले ।

राज्य पक्ष र तत्कालीन विद्रोही माओवादीबीच द्वन्द्वको अवस्थामा स्याङ्जाका विभिन्न भेगमा शान्ति सुरक्षा प्रदान गर्ने उद्देश्यसहित वालिङमा क्याम्प स्थापना भएको थियो । हालको वालिङ–९ भुम्रेमा अस्थायीरुपमा बसेको क्याम्प २०५८ माघ १० गते सुरक्षाका दृष्टिले वालिङ–८ घ्याङलिङमा सरेको थियो ।

उक्त जग्गा पूर्णामृत भवानी माविका नाममा छ । सशस्त्र प्रहरी तालिम बेस क्याम्पका रुपमा वालिङमा स्थापना भएको यो कार्यालयले २०७५ सालमा सशस्त्र प्रहरी ३० नं गुल्मका रुपमा स्थायित्व प्राप्त ग¥यो । कार्यालय स्थायी त भयो तर कार्यालय कुन ठाउँमा स्थापना गर्ने भन्ने जग्गाको अन्योलता आजसम्म पनि कायमै छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा एक सय ६० जनाको दरबन्दी यहाँ छ । कार्यालयले स्थायित्व पाए पनि जग्गा कार्यालयको नाममा उपलब्ध नभएकाले स्थायी संरचना निर्माण गर्न नसकिएको गुल्मपति राजनलाल श्रेष्ठ बताउँछन् ।

यस गुल्मलाई हालकै स्थानमा राख्ने वा विकल्प खोजेर अन्यत्र स्थानान्तरण गर्ने भन्ने विषयमा पटक पटक छलफल भए पनि हालसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन । विद्यालय व्यवस्थापन समितिले अहिलेसम्म उक्त जग्गा गुल्मलाई दिने निर्णय नगरेको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले बताए ।

हाल गुल्म रहेको घ्याङलिङमै स्थायी संरचना निर्माण गर्ने जग्गा दिने निर्णय वालिङ नगर कार्यपालिकाले २०७५ सालमा गरेको थियो । नगरपालिकाले निर्णय गरेता पनि विद्यालयले उक्त निर्णयलाई अस्वीकृत गर्दै एक हजार ५० जनाको हस्ताक्षर समेत गरेको थियो । वालिङमै भएको विषयसँग मिल्दोजुल्दो विषयमा सर्वोच्च अदालतले विद्यालयको स्वामित्वमा रहेको कुनै पनि सम्पत्ति विशुद्ध शैक्षिक क्षेत्रबाहेक अन्यमा प्रयोजन गर्न नपाइने निर्णय गरेकाले पनि उक्त जग्गा गुल्मका नाममा दिने निर्णय गर्न नसकिने प्रधानाध्यापक अर्यालको जिकिर छ ।

द्वन्द्वकालमा सशस्त्र प्रहरीले विशेषगरी वालिङ क्षेत्रमा खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताए । वालिङमा शान्ति सुरक्षाको प्रत्याभूति भएकै कारण पनि बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढ्दै गएको छ । ‘सशस्त्र प्रहरीलाई वालिङमै राख्नुपर्छ पनि भन्ने अहिलेकै जग्गा हो वा त्यसको विकल्प के हो त्यसका बारेमा अब अनिर्णयको बन्दी हुनुले अर्थ राख्दैन’, नगर प्रमुख खाँणले भने, ‘क्षणिक लाभहानि नेतृत्वले सोच्ने हो भने केही पनि काम हुँदैन अब ठोस निर्णय गर्नुपर्ने बेला आएको छ ।’

गुल्मलाई वालिङमै राख्ने गरी अबको तीन महिनाभित्र जग्गा उपलब्ध गराउने उनको भनाइ छ । ‘हालकै जग्गा वा त्यसको विकल्पको खोजी गरी गुल्मलाई वालिङमै राख्ने गरी काम अगाडि बढाउँछौं’, उनले भने, ‘वालिङमा जग्गा उपलब्ध गराउन नसकिने भए गुल्मलाई निधो दिन्छौँ, गुल्म वालिङ नभई जिल्लाका अन्य स्थानमा पनि जान सक्छ ।’

वालिङ तथा आसपासको शान्तिसुरक्षा साथै वालिङमा बढ्दो बजारीकरणलाई मध्यनजर गर्दै यहाँ रहेको गुल्मलाई अन्यत्र लैजान नहुनेमा सरोकारवाला एकमत छन् । हालकै जग्गामा गुल्म रहने वा विकल्पका रुपमा अन्य जग्गा उपलब्ध गराउने विषयमा मत भिन्नता छ । सुरक्षाका दृष्टिले हालकै जग्गा उपयुक्त रहेको छ । अन्य विकल्पमा शान्ति सुरक्षाका दृष्टिले गुल्म स्थानान्तरण हुन सक्छ सक्दैन त्यो अहिले निर्णय हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७