संयन्त्रको वैठकपछि लिङदेनले भने, ‘राष्ट्रपतिबारे सत्ता साझेदार दलमा कुनै विमति छैन’

चितवन–२ को उपनिर्वाचनको मितिबारे रविले राखे चासो


२९ माघ २०७९, आईतवार
Rajendra lingden

काठमाडौं । सत्ता साझेदार दलहरु आउँदा दिनमा अझ सहकार्य मजबुत बनाएर अघि बढ्न सहमत भएका छन् ।
आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अझ मजबुत ढंगले सहकार्यलाई अगाडि बढाउने र छलफललाई निरन्तरता दिने सहमति भएको हो ।

बैठकपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म सरकारले गरेका काम कारबाहीको बारेमा समीक्षा भएको जानकारी दिए । उनले भने, ‘आगामी दिनमा अझ मजबुत ढंगले यो सहकार्यलाई अगाडि बढाएर लैजाने भन्ने सहमति भएको छ र अब नियमित रुपमा यस प्रकारको भेटघाटलाई निरन्तरता दिने सहमति भएको छ ।’

बैठकमा रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे पनि छलफल भएको उनले जानकारी दिए । ‘उपयुक्त समयमा रास्वपा सरकार आउन पनि सक्छ, केही प्राविधिक समस्याहरु छन्, छलफल भइरहेको छ, यसलाई निरन्तरता दिने कुरा भएको छ,’ अध्यक्ष लिङ्देनले भने ।

उनले राष्ट्रपतिको उम्मेदवारबारे आजको बैठकमा छलफल नभएको बताए । ‘राष्ट्रपतिको निर्वाचनबारे छलफल भएन । बाहिर आएका कुराहरु भ्रमपूर्ण छन्,’ उनले भने, ‘हामीले यो सरकार निर्माणको क्रममा जुन सहमति कायम गरेका थियौं, त्यो सहमतिमा अहिले सत्ता साझेदार दलहरुबीच कुनै विमती छैन । त्यो सहमतिमा कुनै परिवर्तन गर्नुप¥यो भने पनि सहमतिबाटै हुन्छ ।’

वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा उपनिर्वाचनको मितिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चासो राखेका थिए । बैठकमा लामिछानेले चितवन–२ को उपनिर्वाचन चाँडो हुनुपर्ने माग गरेका हुन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगसँग छलफल गरिसकेको र चाँडै निर्णय हुने भनेर आश्वस्त पारेका थिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए । संयन्त्रमा रहेका जसपा, जनमत पार्टी र नागरिक स्वतन्त्र पार्टी सहभागी भएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७