महन्थ ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन लोसपाको प्रस्ताव


९ फाल्गुन २०७९, मंगलवार
Mahantha Thakaur

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई बनाउन प्रस्ताव गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) भेटेर ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन प्रस्ताव राखेको नेता राजेन्द्र महतोले जानकारी दिएका छन् ।

महतोले प्रधानमन्त्रीले राष्ट्रपतिमा सहमतिको उम्मेदवार चाहिन्छ भन्नु भएको छ । त्यै सम्बन्धमा आफूहरुले प्रधानमन्त्रीलाई भेट्न गएको बताए । उनले भने, ‘प्रधानमन्त्रीलाई हामीले राष्ट्रपतिको उम्मेदवारी राष्ट्रिय सहमतिको गर्ने राम्रो विचार हो, अहिलेको अवस्थामा राष्ट्रिय सहमतिकै उम्मेदवार उपयुक्त हुन्छ । हामीलाई तपाईंको विचार उपयुक्त लागेको छ र यो राष्ट्रिय सहमतिको पात्र महन्थ ठाकुर पनि हुन सक्नुहुन्छ भन्यौं । ठाकुरको नाउँमा सहमति गराउन सजिलो होला कि भनेर हामीले उहाँलाई आग्रह गरेका थियौं ।’

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका लागि ठाकुर पनि उपयुक्त पात्र भएको जवाफ दिएको महतोले जानकारी दिएका छन् । ‘ठाकुर राष्ट्रिय सहमतिको उम्मेदवार होइन कि उपयुक्त पात्र हो र सबैले भनिरहेको हो भन्ने उहाँको जवाफ थियो । तपाईंहरूले नयाँ कुरा भनिराख्नु भएको होइन, सबैलाई थाहा भएकै कुरा हो भन्नु भएको हो,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनु पर्छ भन्ने धारणा दोहोर्‍याएको महतोले बताएका छन् । प्रधानमन्त्री दाहालले हालसम्म कसैको पनि नाम नलिएको र आफू सल्लाहमा नै रहेको जवाफ लोसपाका नेताहरूलाई दिएका थिए । राष्ट्रपतिका लागि फागुन १३ मा मनोनयनका लागि निर्वाचन आयोगले मिति तय गरेको छ । राष्ट्रपति निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७