राष्ट्रपतिका प्रतिस्पर्धी नेम्वाङ र पौडेलले एक–अर्काको प्रशंसा गर्दै दिए शुभकामना


२५ फाल्गुन २०७९, बिहीबार
Subash Nembang Ram chandra

काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपति बन्नका लागि प्रतिस्पर्धामा रहेका नेकपा एमालेका सुवासचन्द्र नेम्वा र नेपाली कांग्रेसका रामचन्द्र पौडेलले एक–अर्काको प्रशंसा गर्दै विजयको शुभकामना दिएका छन् ।

आज (बिहीबार) संसद् भवन बानेश्वरमा मतदानपछि दुवैले अंकमाल गरी शुभकामना साटासाट गरेका हुन् । राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा मतदान जारी छ । निर्वाचनमा दुई पूर्व सभामुख पौडेल (कांग्रेस) र नेम्वाङ (एमाले) बीच प्रतिस्पर्धा हुँदैछ । कांग्रेसका पौडेललाई ९ दलको साथ छ भने एमालेका नेम्वाङलाई आफ्नो पार्टीको मात्रै भर छ । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल आइतबार सकिँदैछ ।

निर्वाचन आयोगले उनको कार्यकाल सकिनुअघि नै नयाँ राष्ट्रपति चुन्न लागेको हो । बिहान १० बजे शुरु भई मतदान अपराह्न ३ बजेसम्म हुनेछ । मतदान सकिएको बढीमा ४ घण्टाभित्र परिणाम आइसक्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिएका छन् ।

निर्वाचनमा प्रतिनिधिसभाका २ सय ७२ (फरार १ सहित), राष्ट्रिय सभाका ५९ र सातै प्रदेशसभाका ५ सय ५० गरी ८ सय ८१ मतदाताले भाग लिनेछन् । संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार फरक छ । संघीय संसद् सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सदस्यको ४८ छ । दुवै सभाको तत्काल कायम रहेका मतदाताको कुल मतभार भने ५२ हजार ६ सय २८ रहेको छ ।

निर्वाचनमा १४ वटा दलले सहभागिता जनाउँदै छन् । राप्रपाले राष्ट्रपति निर्वाचनमा भाग नलिने घोषणा गरेको छ । राप्रपाका प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन् । उनीहरूको मतभार २ हजार ४ सय ५० छ । तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ । कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा दोस्रो चरणमा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ ।

त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ । निर्वाचनका लागि दुईवटा मतदान केन्द्र कायम गरिएको छ । ५ सय ५० प्रदेशसभा सदस्यका लागि एउटा, प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य ३ सय ३१ जनाका लागि अर्को मतदान केन्द्र निर्धारण गरिएको छ । एउटा केन्द्रमा सात जना कर्मचारी खटिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७