म्यान्माको एक गुम्बामा भएको झडपमा २९ जनाको मृत्यु


२ चैत्र २०७९, बिहीबार
myanmar sena

न्यापित, म्यान्मा । म्यान्माको दक्षिणी शान राज्यको एक गुम्बामा तीन भिक्षुसहित कम्तीमा २९ जनाको मृत्यु भएको ‘म्यान्मा नाउ’ ले जनाएको छ । स्थानीय विद्रोही समूह र सैनिकले एकअर्कामाथि गत शनिबार भएको नरसंहारको आरोप लगाएका छन् ।

आइतबार अनलाइनमा पोस्ट गरिएको तस्वीरमा गाउँको गुम्बाको प्रवेशद्वार नजिकै रगतले लतपतिएका थुप्रै शवहरू देखिएका छन्, जसमा तीन जना बौद्ध भिक्षुका पनि छन् । गुम्बाको अगाडिको भाग पनि गोलीका प्वालहरूले भरिएको देखिन्छ । ढिलोगरी सञ्चारमाध्यममा आएको यो सूचनाले सम्पूर्ण विश्व समुदायलाई स्तब्ध बनाएको छ ।

यसै महिनाको सुरुमा सागाइङ क्षेत्रको मिन्मु टाउनशिपमा जुन्टा सेनाले १७ जना गाउँलेको हत्या गरेको केही दिनपछि शनिबार नानेइन्ट गाउँमा पछिल्लो घटना भएको त्यहाँका विद्रोही स्रोतले जनाएको छ ।

म्यान्मा नाउले स्वतन्त्र रूपमा पुष्टि गरेको ‘क्यारेनी नेसनलिटीज डिफेन्स फोर्स (केएनडीएफ)’ ले सार्वजनिक गरेको तस्वीरमा मृतकको टाउको र शरीरका अन्य भागमा गोली लागेको स्पष्ट देखिन्छ । गुम्बाका भित्ताहरूमा तल भुइँमा रगतले लतपतिएका शवहरू पंत्तिबद्ध भएर लडेको देखिन्छ ।

केएनडीएफका प्रवक्ताका अनुसार अहिलेसम्म २२ जनाको शव निकालिएको छ भने अन्य सात जना अझै घटनास्थलमै रहेको अनुमान गरिएको छ । ‘गुम्बाको पछाडि थप सात वटा शव छन्, जुन हामीले अहिलेसम्म सङ्कलन गर्न सकेका छैनौँ,’ सुरक्षाको कारण देखाउँदै नाम नबताउने शर्तमा प्रवक्ताले भने ।

म्यान्मामा सन् २०२१ मा सैन्य नेता मिन आङ ह्लाइङले सत्ता कब्जा गरेपछि राजनीतिक हिंसामा फसेको छ । जसले पाँच करोड ५० लाख जनसंख्या भएको दक्षिणपूर्वी एशियाली मुलुकको प्रजातान्त्रिक शासन व्यवस्थाप्रतिको आन्दोलन थप पछि धकेलिएको छ । एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७