स्ववियु चुनावकाे नतिजा आउने क्रम धमाधम, अहिलेसम्म कहाँबाट को–को निर्वाचित ?


६ चैत्र २०७९, सोमबार
nepal law aneraswabiyu EUHNUpsIqY

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको नतिजा आउन थालेको छ । केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसङ्घका श्यामराज ओझा निर्वाचित भएका छन् ।

थापाथली इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका विक्रम शाही तथा पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानको स्ववियु सभापतिमा नेविसङ्घका नवीन श्रेष्ठ विजयी भएका छन् । काठमाडौँको पुल्चोक इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका विराज अर्याल विजयी भएका छन् ।

काठमाडौँको पिपुल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रञ्जित भण्डारी र नर्सिङ क्याम्पस विराटनगरको स्ववियु सभापतिमा पनि अनेरास्ववियुकै प्रशंसा पौडेल विजयी भएका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तर्गत नेपाल ल क्याम्पसको सभापतिमा विष्णु ढुंगेल विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ढुंगेलले ५२ मतले अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गरेका हुन् । अखिल (क्रान्तिकारी) ले ल क्याम्पसको स्ववियुमा ३३ वर्षपछि जित निकालेको हो ।
ढुंगेलले ५९१ मत प्राप्त गर्दा तामाङलाई ५३९ मत खसेको छ ।

यस्तै सचिवमा नेविसंघका मनोज सिंह(६०१) र कोषाध्यक्षमा अनेरास्ववियुका सन्ज्योति नेम्वाङ (४२३) विजयी भएका छन् । ७ सदस्यमध्ये ५ सदस्य अनेरास्ववियुले जितेको छ । अनेरास्ववियुका समिर रिजाल, प्रियंका साउँद, प्रज्ञा ज्ञवाली, शिरिष पौडेल र आशुतोष कुमार गुप्ता सदस्यमा विजयी भएका छन् । यस्तै नेविसंघबाट अमृत ढकाल र सपना गौतम सदस्यमा विजयी भएका छन् ।

विराटनगरको स्नातकोत्तर क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका निर्मलप्रसाद गजुरेल विजयी भएका छन् । हिजो त्रिभुवन विश्वविद्यालयका २१२ वटा क्याम्पसमा स्ववियु चुनाव भएको हो । १४ वर्षपछि भएको चुनावमा ६० प्रतिशत विद्यार्थी मतदानमा सहभागी भएका छन् ।

सबैभन्दा धेरै विद्यार्थी रहेका त्रिचन्द्र बहुमुखी क्याम्पस, नेपाल कमर्स क्याम्पस मीनभवन, पाटन बहुमुखी क्याम्पस, अमृत साइन्स क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस र कोटेश्वर बहुमुखी क्याम्पसमा हिजो चुनाव हुन सकेन ।

त्यस्तै पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस, दार्चुलाका शङ्खरपुर क्याम्पस र लतिनाथ क्याम्पस, डोटीको डोटी बहुमुखी क्याम्पस तथा आठबीस शिक्षा क्याम्पसमा मतदान स्थगित भएको छ । बाजुरा क्याम्पसमा पनि विद्यार्थी सङ्गठनबीच झडप हुँदा मतदान प्रक्रिया स्थगित भएको छ । यसअघि नै स्थगित गरिएका १६ वटा क्याम्पसमा आउँदो ८ गते चुनाव हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७