सरकारले गौतमबुद्ध क्रिकेट रङ्गशालाको पूर्ण स्वामित्व लिनु पर्छ : सांसद देवकोटा


१२ चैत्र २०७९, आईतवार
Khimlal Devkota 21
फाइल फोटो

काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन् ।

आज (आइतबार) को राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला आवश्यक छ भन्ने सन्देश भर्खरैकै आईसीसी विश्व कप क्रिकेट लिग–२ ले देखाइसकेको भन्दै भरतपुरमा धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालाको पूर्ण स्वामित्व र अपनत्व आफै वा भरतपुर महानगरपालिकाले लिने गरी निर्णय गर्न सरकार समक्ष अनुरोध गरे । सदस्य देवकोटाले राज्यले गर्नुपर्ने काम व्यक्ति अग्रसर हुनु राम्रो भए पनि सरकारसँग गुहार मागेपछि सरकार गम्भीर हुनुपर्ने बताए ।

उनले भने, ‘नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला आवश्यक छ भन्ने सन्देश भर्खरैको आईसीसी विश्व कप क्रिकेट लिग–२ ले पनि देखाएको छ । यसै सन्दर्भमा भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेशनद्वारा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणका काममा देखिएका व्यवधानहरूको अन्त्य गर्दै गेम चेन्जर परियोजनाको रूपमा रहन सक्ने त्यो रङ्गशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफै वा भरतपुर महानगरपालिकाले लिने गरी निर्णय गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्दछु । राज्यले गर्नुपर्ने काम व्यक्ति अग्रसर हुनु राम्रो हो, सरकारले नै गरोस्, हेरोस् भन्दा सरकारले सुन्नुपर्छ । गम्भीर हुनुपर्छ ।’

बैठकमा बोल्दै सदस्य देवकोटाले नेपालमा शिक्षाको अवस्था चिन्ताजनक रहेको बताएका छन् । उनले विद्यालय शिक्षामा बोर्डिङ स्कुलको प्रवेशले कैयौँ सरकारी विद्यालयहरू ध्वस्त भएको बताए । निजी कलेज, स्कुलले मनपर्दी शुल्क बढाउँदा समेत सरकार मौन रहेको भन्दै उनले आपत्ति जनाए । सांसद देवकोटाले नेपालबाट दिनहुँ विद्यार्थीहरू विदेश पलायन भइरहेको भन्दै सरकारले यसमा गम्भीर बन्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७