लक्जमबर्गको पोस्टमा पोर्चुगलको गोल वर्षा, रोनाल्डो एक्लैको दुई गोल


१३ चैत्र २०७९, सोमबार
Ronaldo1679884278

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलले आइतबार राति युरो–२०२४ छनोट प्रतियोगितामा लक्जमबर्गलाई ६–० ले हराएको छ ।

कतार विश्वकपपछि पोचुगलको यो लगातार दोस्रो जित हो । यसअघि पोर्चुगलले छनोट प्रतियोगितामा लिचेस्टाइनलाई ४–० ले हराएको थियो । विश्वकपपछि पोर्चुगल रोबर्टो मार्टिनेजको प्रशिक्षणमा खेलिरहेको छ । मार्टिनेज बेल्जियमका पूर्व प्रशिक्षक हुन् ।
गए राति रोनाल्डोले नवौँ मिनेटमा गरेको गोलबाट पाहुना टोली पोर्चुगलले अग्रता लिएको थियो । १५औँ मिनेटमा जोओ फेलिक्सले पोर्चुगलको अग्रता दोब्बर बनाए । १८औँ मिनेटमा बर्नार्डो सिल्भाले तेस्रो गोल गरे । ३१औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे ।

यससँगै रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या १२२ पुर्‍याएका छन् । रोनाल्डोले १९८ खेलमा १२२ गोल गरेका हुन् । रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । दोस्रो स्थानमा इरानका अली दाई छन् । अली दाईले १०९ गोल गरेका छन् । तेस्रो स्थानमा रहेका लियोनल मेसीले ९९ गोल गरेका छन् । ७७औँ मिनेटमा ओटाभियोले गोल गरे । ८९औँ मिनेटमा राफेल लियोले अर्को गोल थपे । लियो ८५औँ मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

जितसँगै छनोट प्रतियोगिताको समूह ‘जे’मा पोर्चुगल शीर्ष स्थानमा छ । पोर्चुगलले ६ अंक जोडेको छ । दोस्रो स्थानको स्लोभाकियाले ४ अंक जोडेको छ । स्लोभाकियाले गएराति बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले हराएको थियो । बोस्निया एन्ड हर्जगोभिना तीन अंकका साथ तेस्रो स्थानमा छ ।

समान तीन अंक जोडेको आइसल्यान्ड चौथो स्थानमा छ । एक अंक जोडेको लक्जमबर्ग पाँचौँ र अंकविहीन लिचेस्टाइन छैटौँ स्थानमा छ । आइसल्यान्डले गए राति लिचेस्टाइनलाई ७–० ले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७