खिम्ती–लामोसाँघु प्रशारण लाइनमा चट्याङ पर्दा काठमाडौं अन्धकार

काठमाडौँ । खिम्ती–लामोसाँघु प्रशारण लाइनमा चट्याङले क्षति पुर्याउँदा काठमाडौं उपत्यकाका अधिकांश ठाउँ अन्धकार बनेको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार केहीबेर अघि चट्याङका कारणले विद्युत् आपूर्ति बन्द भएको हो ।
उनले खिम्ती–लामोसाँघु प्रशारण लाइनमा लाइटनिङका कारण डिस्टर्बेन्स आउँदा काठमाडौं उपत्यकाका अधिकांश भागमा त्यसैका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको जानकारी दिए । प्रवक्ता भट्टराईका अनुसार अहिले मर्मत कार्य जारी रहेको छ । कतिबेरमा विद्युत् आपूर्ति सुरु हुन्छ भन्ने यकिनसाथ भन्न नसकिने उनको भनाइ छ ।
खिम्ती–लामोसाँघु १३२ केभी प्रशारण लाइन राष्ट्रिय प्रशारण लाइन हो । जुन प्रशारण लाइनमार्फत माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् काठमाडौं उपत्यकालगायतका स्थानमा आपूर्ति हुन्छ ।