पीडितलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद : मेयर शाह


१४ चैत्र २०७९, मंगलवार
Balendra Shah

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले ११ हिँडेर आएका मिटरब्याजपीडितलाई खुलामञ्चमा प्रवेश नदिएको बारे स्पष्टीकरण दिएका छन् ।

तराईंका विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याजपीडित खुलामञ्च प्रवेश गर्न खोजे पनि महानगरको नगर प्रहरीले प्रवेशमा रोक लगाएको थियो । खुलामञ्चमा प्रवेश गर्न महानगरपालिकाको नगर प्रहरीले रोक लगाएसँगै उनीहरू गेटमा नै धर्नामा बसेका छन् । खुलामञ्चमा प्रवेश गर्न नदिएको भन्दै महानगरपालिकाको चौतर्फी आलोचना भएको थियो ।

उक्त विषयमा प्रष्टीकरण दिँदै मेयर शाहले माइतीघरले न्याय नदिने बताएका छन् । ‘न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रिपरिषद्ले दिनुपर्ने हो,’ आज (मंगलबार) सामाजिक सञ्जालमा मेयर शाहले भनेका छन्, ‘पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ । यो अवस्थामा संघीय सरकारले अतिशिघ्र चासो दिनुपर्ने हो ।’
उनले पीडितहरूलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनु पर्ने बताएका छन् ।

खुलामञ्च निषेधित क्षेत्र नभएको तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद भएको उनले आशंका गरेका छन् । न्यायका लागि वर्षौँ लड्ने वातावरण नबनाइ केही घण्टामा न्यायको अनुभूति दिलाउनु पर्नेमा सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा बसाउने गरी प्राथमिकतामा राखिएकोमा उनले आपत्ति जनाएका छन् ।
स्थानीय समस्याहरु स्थानीय सरकारबाट समाधान हुनुपर्ने पनि उनले बताए । उनले खुलामञ्च आवाज बोल्न सबैका लागि सँधै खुला रहेको बताउँदै आन्दोलनमा ऐक्यवद्धता रहेको पनि बताएका छन् ।

balen sing cvB0MFJTEe

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७