चर्च ब्वाइजले पहिलो सहभागितामै जित्यो जीतपुर सिमरा गोल्डकपको उपाधि


१९ चैत्र २०७९, आईतवार
simara

बारा । १३ औं जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । सिमरा रंगशालामा शनिबार भएको फाइनलमा हिमालयन शेर्पा क्लबलाई २–० ले हराउँदै पहिलो सहभागितामै चर्च ब्वाइजले उपाधि हात पारेको हो ।

खेलको २५ औं मिनेटमा कप्तान मिलन राई र इन्ज्युरी समयमा आशिष चापागाईंले गरेको गोलमा चर्च ब्वाइजले उपाधि उचालेको हो । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार जितेका थिए । फ्लडलाइटमा भएको उपाधि होडमा दुवैले उत्कृष्ट प्रदर्शन गरे ।

विजेतालाई उपराष्ट्रपति रामसहायप्रसाद यादवले पुरस्कृत गरे । पहिलो सहभागितामा चर्च ब्वाइज फाइनल पुगेको हो । साबिक विजेता एनआरटीलाई २–० ले हराउँदै चर्च ब्वाइज उपाधिसामु पुगेको हो । मोफसलका प्रतियोगितामा दुवै टिमको यो सिजन दोस्रो फाइनल हो । चर्च ब्वाइजले इटहरी गोल्डकप र हिमालयन शेर्पाले मकवानपुर गोल्डकपको फाइनल खेलेका थिए । तर दुवै उपविजेतामा सीमित भएका थिए ।

सिमरा दुवै टिम उपाधि जित्न चाहन्थे । बाजी भने चर्च ब्वाइज मारेको छ । राजधानी पुगेर सहिद स्मारक लिगको यात्रा थालनी गर्न आफूहरूका लागि जीतपुरसिमराको उपाधिले उर्जा थप्ने चर्च ब्वाइजका प्रशिक्षक प्रदीप हुमागाईंले बताए । दोस्रो संस्करण विजेता र चौथो संस्करण उपविजेता हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको परिचित टिम हो । लामो समयदेखिसहभागिता जनाउँदै आए पनि टोलीले १० वर्षदेखि जीतपुरसिमरामा सुखद नतिजा प्राप्त गर्न सकेको छैन । शेर्पाका टिम म्यानेजर बिजेन्द्र पुडासैनीले उपाधिका लागि धेरै मिहिनेत गरे पनि सफल हुन नसकेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७