बजेट निकासा नहुँदा मेडिकल कलेज सञ्चालन हुन सकेन


२८ चैत्र २०७९, मंगलवार
medical2023 02 01 03 01 17

डडेल्धुरा । बजेट निकासा नहुँदा डडेल्धुरा अस्पतालको मेडिकल कलेज सञ्चालन हुनसकेको छैन । सरकारले गत माघमा डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा सञ्चालन गर्ने निर्णय भए पनि बजेट निकासा नहुँदा मेडिकल कलेज सञ्चालन हुन नसकेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले बताए ।

‘मेडिकल कलेज सञ्चालनमा आए सुदूरपश्चिम प्रदेशका विद्यार्थीलाई चिकित्सा शिक्षामा पहुँच विस्तार हुनेछ भने प्रदेशभरि विशेषज्ञ उपचार सेवामा पहुँच पुग्ने छ ।’ उपकुलपति जोशीले भने, ‘मेडिकल कलेजका लागि विनियोजित रकम हालसम्म निकासा नभइसकेकाले सम्माननीय प्रधानमन्त्री ज्यूमा त्यसतर्फ निर्देशनका लागि अनुरोध गर्दछु ।’ आइतबार सम्पन्न विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा उपकुलपति जोशीले सभामा उपस्थित कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष बजेट निकासाका लागि आग्रह गरे ।

उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा विनियोजित रु ४० करोड हालसम्म निकासा हुन नसकेको हो । मन्त्रिपरिषद्को माघ १० गते बसेको बैठकले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहने गरी मेडिकल कलेजका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो ।

मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको उपकुलपति जोशीले बताए । दीक्षान्त समारोहमा सहभागी प्रधानमन्त्री दाहालले डडेल्धुरामा बन्ने मेडिकल कलेजका सञ्चालनका लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘डडेल्धुरा मेडिकल कलेज सञ्चालन गर्ने सरकारले निर्णय गरिसकेको छ’, प्रधानमन्त्री दाहालले भने, ‘गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर यहाँका जनताको स्वास्थ्यमा पहुँच विस्तार गर्नेतर्फ सरकार लाग्ने छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७