सरकारले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्छ : रक्षामन्त्री खड्का


२८ चैत्र २०७९, मंगलवार
purnabahadur

सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले निर्वाचनका बेला जनतासँग गरेका बाचा पूरा गर्ने बताएका छन् । नेपाली कांग्रेसका उपसभापति समेत रहेका नेता खड्काले अहिले सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्ने गरी सरकारले काम गर्ने बताएका बताएका हुन् ।

नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर–२ को प्रथम क्षेत्रीय अधिवेशन पन्चपुरी नगरपालिकाको बावियाचौरमा उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको सुदृढीकरण गर्न र देशको तीव्र रुपमा विकासका लागि वर्तमान सरकारले काम गर्ने बताए ।

उनले भने, ‘संघ र प्रदेशको निर्वाचनमा जनतासँग हामीले मत माग्दा शान्ति प्रक्रियालाई पूर्णता दिन्छौं, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्छौं, तीव्र गतिमा देशको विकास गर्छौं भनेका थियौं । चुनावका बेला मतदातासँग गरिएका बाचा अनुसारका कामहरू गर्न अहिलेको सरकार लागिरहेको छ । हामी बाचा भुल्दैनौं ।’ उपप्रधानमन्त्री खड्काले द्वन्द्व पीडितलाई न्यायिक निरूपणमार्फत् न्याय दिने र आर्थिक प्याकेजमार्फत परिपूरण र राहत उपलब्ध गराइने बताए । उनले पुस १० गते बन्नुपर्ने सरकार चैत १७ गते बनेको बताउँदै यो बीचको समय खेर गएको दाबी गरेका छन् ।

पुस १० को अप्राकृतिक गठबन्धन भत्केर प्राकृतिक गठबन्धन बनेको बताउँदै उनले भने, ‘यसले देश र जनताका पक्षमा काम गर्छ । एजेण्डामा सहमत भएका दलहरू एक ठाउँमा रहेकाले ती एजेण्डाहरू पूरा हुनेमा ढुक्क हुनुस् । ’

सरकारले अहिले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रमको जगमा टेकेर बजेट ल्याउने उनले बताए । कर्णालीमा भएका विकासका बहुआयामिक सम्भावनालाई सदुपयोग गर्दै विकासको गतिलाई तीव्र पार्नेगरी केन्द्रबाट विशेष बजेटको व्यवस्था गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७