कुवेतले सिङ्गापुरलाई हरायो


१२ बैशाख २०८०, मंगलवार
kuwait 11682412404

काठमाडौं । कुवेतले सिङ्गापुरलाई पराजित गर्दै एसिसी मेन्स प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा कुवेतले सिङ्गापुरलाई चार विकेटले पराजित गर्दै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको हो । जितका लागि सिङ्गापुरले दिएको ११४ रनको सामान्य लक्ष्य कुवेतले २६ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

कुवेतका लागि अदनान इद्रीशले २८ बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै ३८ रन बनाए । त्यस्तै मित भावसारले ५० बलमा अविजित २७ रन बनाए । यासिन पटेलले २५ बलमा अविजित २१ रन बनाए भने शीराज खानले २० बलमा १० रन बनाए ।
बलिङतर्फ सिङ्गापुरमा अक्षय पुरी र विनोद बसकरनले समान दुई-दुई विकेट लिए भने आदित्य भारगभ र थिलिपानी उमदुराईले समान एक-एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ३१ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो । सिङ्गापुरका लागि सुरुआती ब्याट्सम्यान अर्मत्य कौलले सर्वाधिक ४५ रन बनाएका थिए । उनले ६० बलमा ४५ रन बनाए ।
यसैगरी मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए भने थिलिपन उमरदुराईले १३ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कुवेतका लागि कप्तान मोहम्मद अस्लाम एक्लैले पाँच विकेट लिए भने शिराज खानले ३ विकेट झारे ।

कुवेतले तीन खेलबाट चार अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा छ । कुवेत पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएईं) सँग पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा कुवेतले बहराइनलाई पराजित गरेको थियो । अब बिहीबार हुने समूह चरणको अन्तिम खेलमा हङकङलाई पराजित गरे कुवेत सेमिफाइनलमा पुग्नेछ । त्यस्तै यस खेलसँगै सिङ्गापुर भने अङ्कविहीन रहदै प्रतियोगिताबाट बाहिएको छ । समूह ‘बी’मा हङकङ तीन खेलमा पाँच अङ्क जोड्दै अङक तालिकाको शीर्ष स्थानमा छ भने समान खेल खेलको युएई चार अङ्कका साथ दोस्रो स्थानमा छ । बहराइन तीन अङ्क बटुल्दै अङ्क तालिकाको चौथो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७