सांस्कृतिक सद्भाव बढाउन सीता जन्मोत्सव


१६ बैशाख २०८०, शनिबार
Vicepresident Secretariat scaled

काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले नेपालमा सामाजिक र सांस्कृतिक सद्भाव कायम गर्नका लागि राष्ट्रिय विभूति सीताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

मिथिला संस्कृति समाज, नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘सीता जन्मोत्सव समारोह–२०८०’ कार्यक्रममा उनले सीतालाई एक आदर्श नारीका रुपमा मात्र नभई नेपालभित्र एकता कायम गर्ने साझा प्रतीकका रुपमा लिइनुपर्ने बताए ।
‘मुलुकको सामाजिक, सांस्कृतिक रुपमा एउटा नयाँ आयाम थप्ने काम सीता जन्मोत्सवले गरेको छ । यसबाट राष्ट्रिय एकता र भ्रातृत्व वातावरण बनाउँछ’, उनले भने । सीता जन्मोत्सवले मिथिला संस्कृतिलाई पनि प्रवर्द्धन गरेको पनि उनले बताए ।

सोही कार्यक्रममा मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले सीताको जन्मोत्सवलाई मिथिला क्षेत्रमा मात्र नभई समग्र नेपालभर नै मनाउन आवश्यक रहेको बताए । ‘हामीले आफ्नो इतिहास र संस्कृतिलाई उजागर गर्न सकेनौँ । सामाजिक एकता र सद्भावका लागि सीता जयन्ती हिमाल पहाड सबै क्षेत्रले मनाउन थाल्नु पर्छ’, उनले भने, ‘यसलाई मधेस प्रदेश र जनकपुरको मात्र नभई राष्ट्रिय पर्वका रुपमा मनाइनुपर्छ । यसले जनकपुरको कान्तिपुरसँग सम्बन्ध जोड्न सक्छ ।’ राष्ट्रिय विभूति सीता महिला सशक्तीकरणको प्रतिबिम्ब रहेको पनि उनले उल्लेख गरे ।

हरेक वर्ष वैशाख शुल्क नवमीका दिन राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवम् जयन्तीका रुपमा मनाइने गरिन्छ । मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक धर्मग्रन्थ एवम् पुराणहरुमा वर्णन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७