भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो, जनयुद्धमा जस्तै साथ चाहियो : प्रधानमन्त्री


२६ बैशाख २०८०, मंगलवार
prachanda r7J4X3IJzh

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताएका छन् । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज (मंगलबार) शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिविना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताए । ‘यसका लागि हिजोका दिनमा तपाईहरूले दिएको साथ आज पनि चाहिएको छ । यसका लागि म तपाईँहरूसँग सहयोगको अपिल गर्न चाहन्छु ।’

उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताए । ‘अन्यायमा परेकालाई न्याय, समानता र अधिकार चाहिन्छ । सामाजिक न्याय भनेको त्यही हो’, प्रधानमन्त्रीले भने, ‘देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली नागरिकले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’
उनले नागरिक सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका पाँच वर्षमा एउटा ‘रेकर्ड’ बनाउने सकिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले लोडसेडिङको युगबाट बिजुली बिक्री गर्ने युगमा आएको उल्लेख गर्दै आसन्न भारत भ्रमणमा बिजुली बिक्री र उत्पादनका विषयमा सम्झौता हुने बताए ।

‘जुन–जुन प्रदेशलाई हिजोका दिनमा पछाडि पारिएको थियो, मैले तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको छु । म प्रधानमन्त्री भएपछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पा¥यो तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले काठमाडौँ नजिकै भए पनि हिजोका दिनमा राज्यसत्ताले पछाडि पारेका क्षेत्रलाई विकासमा अगाडि ल्याउने प्रतिबद्धता व्यक्त गरे । ‘हिजो राज्यले काठमाडौँ नजिकै भएर पनि यहाँका नागरिकलाई विकासबाट वञ्चित गरायो’, उनले भने, ‘अबका पाँच वर्षमा हुने विकास निर्माणले पर्यटक ओइरिने छन् ।’ तत्कालीन राज्यसत्ताले गरेको अपमानजनक व्यवहार, असुविधा र विभेद र अन्यायविरुद्ध काभ्रेका नागरिक क्रान्तिमा होमिएको उल्लेख गर्दै उनले महाभारत र खानीखोला जस्ता विकट गाउँले गणतन्त्रको घोषणापछि सबैभन्दो छिटो विकास र सुविधा पाउने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७