असिना पानीले अन्नबालीमा क्षति


७ जेष्ठ २०८०, आईतवार
Asina pani myagdi scaled
फाइल फोटो

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा गत बुधबार दिउँसो आएको असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्‍याएको छ । हिउँदे बाली भित्र्याउन नपाउदै आएको असिनापानीले खेतबारीमै गहुँ, जाैं सखाप पारेपछि किसानहरू चिन्तित बनेका छन् । अहिले उनीहरु भोकै परिने हो कि भन्ने चिन्तामा छन् ।

कम उत्पादन हुने र हिउँदभरि दुःख गरेर लगाएको खेती असिनापानीले सखाप पारेपछि बालबच्चा कसरी पाल्ने भन्ने चिन्ता बढेको खप्तड छेडेदह गाउँपालिका–७ बुढाबाडाकी भीम्ला बुढाले दुःखेसो पोखिन् । उनले भनिन्, ‘असिनापानीले गहुँ, जाँै, तरकारीमा आलु प्याज, लसुन, फलेको फलफूलमा क्षति पुग्यो ।’

खप्तड छेडेदह –६ र ७ वडाका करिब सात हजार रोपनी जग्गाको अन्न, तरकारी र फलफूल खेतीमा क्षति पुगेको असिनापीडित किसानले जनाएका छन् । असिनाबाट पीडित बनेका किसानले बिहान खेतबारी गएर टुलुटुलु पाकेको गहुँ र जौँ हेर्नुबाहेकको विकल्प नरहेको ओलीका कृषक बिर्ख ओलीले बताए । उनले असिनाबाट पीडित किसानलाई राहतभन्दा पनि क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

असिनापानीले वडा नं ६ को मैतोला, नाइना र सुदाडामा अन्न बाली, तरकारी र फलफूल खेतीमा क्षति पुर्‍याएको छ भने वडा नं ७ को बुढाबाडा, लम्गाउँ, गुम्लागाउँ, कठायतबाडा, ओलीगाउँ र दानीगाउँमा नोक्सानी गरेको वडा नं ७ का वडाध्यक्ष खगेन्द्र रावतले बताए ।
क्षतिको विवरण संकलनमा सुरसार छैन

असिनापानीले खप्तड छेडेदह–६ र ७ वडाका किसानले खेतबारीमा लगाएको अन्न, तरकारी र फलफूल खेतीमा क्षति पु¥याएको भए पनि स्थानीय सरकार पालिका र कृषि ज्ञान केन्द्र बाजुराले विवरण सङ्कलनमा कुनै सुरसार नगरेको पीडित किसानले गुनासो गरेका छन् ।

असिनापानीले वडा नं ६ का तीन सय ८० र ७ का पाँच सय २५ परिवार गरी नौ सय पाँच परिवार प्रभावित भए पनि गाउँपालिकाले क्षतिको विवरण सङ्कलनमा चासो नदेखाएको पीडित कृषक गौरी ओलीले बताए ।

क्षतिको विवरण सङ्कलनका गर्न पालिका र कृषि ज्ञान केन्द्र बाजुराले चासो नदेखाएपछि क्षतिपूर्ति नपाउने चिन्ता कृषकमा परेको छ । असिनापानीबाट प्रभावित बनेका किसानको क्षतिको विवरण सङ्कलनका लागि गाउँपालिका र कृषि ज्ञान केन्द्र बाजुरालाई आग्रह गरेको भए पनि कुनै चासो नदेखाएर बेवास्ता गरेको वडा नं ७ का वडाध्यक्ष खगेन्द्र रावतले बताएका छन् । खप्तड छेडेदह –६ र ७ वडाका नौ सय पाँच परिवारले लगाएको अन्नबाली, तरकारी र फलफूल खेतीमा करिब रु दुई करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

गाउँपालिका–७ का वडाध्यक्ष रावतका अनुसार वडा ६ र ७ का उक्त परिवारले करिक सात हजार पाँच रोपनीमा लगाएको अन्न, तरकारी र फलफूल खेती नोक्सानी पुर्‍याएकाले वडा कार्यालयले प्रारम्भिक अनुमान गरेको बताए । वडा कार्यालयको अनुगमन गर्दा प्रारम्भिकरूपमा रु दुई करोड बढीको क्षति भएको अनुमान गरिएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७