आठ स्रष्टालाई सम्मान र पुरस्कार


१३ जेष्ठ २०८०, शनिबार
samm

काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । दायित्व वाङ्मय विशिष्ट सम्मान शशि पन्थी र रमेश गोर्खालीलाई तथा दायित्व वाङ्मय सम्मान विष्णुबहादुर सिंह र चन्द्रकान्त आचार्यलाई प्रदान गरियो ।

पूर्व प्रधानन्यायाधीश श्रेष्ठले विद्वच्छिरोमणि हेमराज पुरस्कार चुडामणि गौतमलाई, दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति वसन्त रिजाल, हरिकला–गुणाकर दायित्व रचना पुरस्कार त्रिभुवनचन्द्र वाग्ले र दायित्व यशोदादेवी पन्त प्रतिभा पुरस्कार जया सत्याललाई प्रदान गरे ।

सो अवसरमा पूर्व प्रधानन्यायाधीश श्रेष्ठले प्रतिष्ठानले मुलुकका भाषा, साहित्य र व्याकरण क्षेत्रका सोनामधन्य व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान गरी न्याय गर्दै आफ्नो कर्तव्य पूरा गरेको बताए । उनले भने, ‘साहित्यका आ–आफ्ना विधामा विशिष्ट योगदान गर्नु हुने तपाईहरू सम्मानका लागि लायक र अधिकारिक हुनुहुन्छ । सम्मान गर्नेको सही छनोट भएमा प्रतिष्ठानको आफै सम्मान बढ्छ ।’

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त र महासचिव डा. भागवत ढकालले प्रतिष्ठानले नेपाली साहित्य क्षेत्रको विकास र विस्तारका लागि गर्दै आएको योगदानको चर्चा गरे । समारोहमा अध्यक्ष पन्तको निवन्धावली र प्रतिष्ठानको द्विमासिक प्रकाशन दायित्वको वर्ष ३७ पूर्णाङ्क एक सय ४१ को लोकार्पण गरियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७