सर्वसाधारणका लागि खुल्यो फेवाताल किनारको रत्न मन्दिर


१५ जेष्ठ २०८०, सोमबार
Ratna mandir pokhara

पोखरा । पोखराको फेवाताल किनारको रत्न मन्दिर (राजदरबार) आज (सोमबार) देखि सर्वसाधारणका लागि खुलेको छ । गणतन्त्र दिवसको अवसर पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले खुला गरेका हुन् । राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा २०१३ सालमा रत्नमन्दिर बनाएका थिए ।

२०६४ सालमा गणतन्त्र आएसँगै दरबार नेपाल ट्रस्टको स्वामित्वमा आएको थियो । नेपाल ट्रस्टको स्वामित्वमा आएको दरबारलाई शाहवंशीय राजाको इतिहास अध्ययन केन्द्रको साथै जैविक विविधता पार्कको रुपमा विकास गरी खुला गर्न पोखराका पर्यटन व्यवसायीले माग गर्दै आएका थिए ।

रत्नमन्दिर सर्वसाधारणका लागि आजदेखि खुला भएको नेपाल ट्रस्टका प्रवक्ता दिपकराज नेपालले जानकारी दिए । रत्न मन्दिर परिसरको २८ रोपनी क्षेत्रको अवलोकनका लागि मात्र दरबार खुला गरिएको हो । दरबारभित्र अवलोकनका लागि व्यवस्थित गर्न साँगुरो संरचनाका कारण अप्ठ्यारो पर्ने भएकोले दरबारभित्र अवलोकन गर्ने सहज वातावरण बनाउन भने केही समय लाग्ने बताइएको छ ।

रत्नमन्दिर दरबार अवलोकन गर्न विदेशी नागरिकलाई एक हजार, नेपालीलाई १०० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिने गरी तयारी गरिएको प्रवक्ता नेपालले बताए । तत्कालीन राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र पोखरा आउँदा यही दरबारमा बस्ने गर्थे । चारैतिर पर्खालले घेरिएको राजा बस्ने दरबार पर्यटकका लागि मात्र होइन स्थानीयका लागि पनि कौतुहल विषय बन्दै आएको छ । २०१३ सालमा निमार्ण पुरा भएको रत्नमन्दिर एक सय ७४ रोपनी क्षेत्रफलमा रहेको छ । रत्नमन्दिर परिसरमा राजा बस्ने बंगला प्रमुख आकर्षण रहेको छ ।

बंगलामा ११ कोठा रहेका छन् । त्यससँगै राजा पोखरा आउँदा दैनिक रुपमा कामकाज गर्ने स्थान,बोट हाउस,एडीसी अफिस र सुन्दर बगैचा रहेका छन् । तालको किनारमा रहेको दरबार आकर्षक छ । चराचुरुङ्गीको चिरवीर आवाज र फेवातालको मनोरम दृश्य त्यहाँ पुग्ने जोकोहिलाई पनि लोभ्याउँछ ।

रत्न मन्दिर सर्वसाधारणका लागि खुला भएसँगै पोखरा घुम्न आउने पर्यटकको बसाइँ लम्बिने पोखरा पर्यटन परिषदका सचिव हरि भुजेलले सुनाए । पोखरा घुम्न आउने स्वदेशी र विदेशी पर्यटकले ताल किनारको राजदरबार कस्तो छ भन्ने जिज्ञासा राख्ने गर्छन् । दरबार खुला भएसँगै पर्खालले घेरिएर रहेको राजा बस्ने दरबार कस्तो छ भन्ने जिज्ञासा मेटिने स्थानीय अनिल थापाले बताए ।

रत्न मन्दिरमा ४१ वर्ष जागीर खाएर रिटायर जीवन बिताइरहेकी ८२ वर्षीय प्रताप कुमारी अधिकारी राजा बस्ने दरबार कस्तो होला भन्ने जिज्ञा सबैमा भए पनि दरबार सामान्य रहेको बताउँछिन् । दरबारका कोठा साँगुरा रहेको र खाट, बेड विस्तारा पनि समान्य रहेको जानकारी दिइन् ।

राजा महेन्द्र,राजा वीरेन्द्र दरबार आउने वित्तिकै सबैलाई सन्चो बिसन्चो के कस्तो छ भनेर सोध्ने गरेको अधिकारीले सुनाइन् । राजा महेन्द्र, राजा वीरेन्द्र सारै दयालु रहेको पनि अधिकारीले बताइन् । रत्न मन्दिर दरबार नजिकै घर भएकी अधिकारी दरबार हत्या काण्डपछि रत्नमन्दिर जान मननै नलागेको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७