अत्यधिक गर्मीले पर्साको जनजीवन कष्टकर


१८ जेष्ठ २०८०, बिहीबार
Garmi ma poudi sunsari scaled

पर्सा । विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ । पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो ।

विगत एक सातादेखि दैनिक ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम बढ्ने गरेकाले बजारमा सर्वसाधारणको चहलपहल ह्वात्तै घटेको वीरगञ्जका व्यापारी रामकृष्ण साहले बताए । यस्तै अत्यधिक गर्मीका कारण जिल्लास्थित अधिकांश सरकारी कार्यालयमा सेवाग्राही घटेका छन् ।

अचानक बढेको तापक्रमका कारण जिल्लामा बिरामीको संख्या ह्वात्तै बढेको छ । गर्मीका कारण झाडापखाला, निमोनिया, भाइरल ज्वरो, पेट दुख्ने, टाउको दुख्नेलगायतका समस्याबाट पीडित बिरामी बढेका वीरगञ्जस्थित नारायणी अस्पतालका प्रवक्ता उदयनारायण सिंहले जानकारी दिए ।

उनका अनुसार अहिले दैनिक छ सयदेखि आठ सयसम्म बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । त्यसका कारण अस्पतालमा शय्याको अभाव हुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था रहेको प्रवक्ता सिंहले बताए ।

गर्मीका कारण सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा तथा मजदुरी गर्ने बढी प्रभावित भएका छन् । दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने तातो हावाले कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको चिकित्सकको भनाइ छ । गर्मीका कारण बजारमा चिसो पेयपदार्थ, फलफूलको जुस र चिसो पानीको बिक्री बढेको व्यापारी बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७