हिउँ पहिरोमा बेपत्ता भएको ३२ दिनपछि तीन यार्सा संकलकको शव फेला


२४ जेष्ठ २०८०, बुधबार
himpahiro
फाइल फोटो

मुगु । हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा संकलक ३२ दिनपछि मृत अवस्थामा फेला परेका छन् । मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षिय तारासिंह सार्की, ३५ वर्षिय पुन्न सार्की र ३५ वर्षिय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेखमा गत वैशाख २२ गते यार्सा सङ्कल गर्न गएका उनीहरु हिउँपहिरोमा परी बेपत्ता भएका थिए । बेपत्तामा परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कणाली प्रदेश सरकारले हेलिकप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दुई हप्तासम्म खोजी गर्दा शव फेला परेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

लगातारको हिमपातका कारण पाटनलगायत हिमालमा बाक्लो हिउँ जमेकाले खोजी कार्यमा समस्या भएको उनले बताए । ‘बेपत्ता भएकाको तीनै जनाको शव घटनास्थल भन्दा दुई किलोमिटर तल ल्याएका थियौँ’, उनले भने । शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट चिकित्सकको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाइ दाहसंस्कार गरिएको प्रनाउ बस्नेतले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७