हर्क सम्पाङको नगरको बजेट १ अर्ब ७१ करोड


१० असार २०८०, आईतवार
Harka sampang

काठमाडाैं : वडाध्यक्षहरूको चर्को विरोधका वावजुद ‘नगर प्रमुख कोष’ मा १ करोड ७५ लाख रुपैयाँ छुट्याउँदै धरान उपमहानगरले १ अर्ब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। 

आइतबार सम्पन्न नगरसभामा उपप्रमुख अइन्द्रविक्रम बेघाले प्रस्तुत गरेको धरानको बजेटमा खानेपानीलाई प्राथमिकतामा राखिएको उल्लेख छ। धरानमा यसपटक प्रमुख र उपप्रमुख कोषमा पैसा बढाइएको तर वडाहरुको सिलिङ घटाइएको भन्दै वडाध्यक्षहरूले तीव्र असन्तोष प्रकट गरिरहेका थिए। 

त्यही असन्तोषकै कारण बेलैमा सहमति हुन नसक्दा आइतबार अबेर मात्रै धरानको बजेट सार्वजनिक भएको हो। मेयर हर्क साम्पाङले आफ्नो कोषमा धेरै रकम राखेको भन्दै वडाध्यक्षहरूले विरोध जनाउँदै आएका थिए। 

नयाँ आर्थिक वर्षका लागि सार्वजनिक धरानको बजेटमा आन्तरिक राजस्व ४२ करोड ७२ लाख ६ हजार हुने अनुमान गरिएको छ। संघीय सरकारबाट अनुदान ९० करोड २ लाख, प्रदेश सरकारबाट अनुदान ४ करोड १ लाख ९२ हजार, संघीय राजस्व बाँडफाँटबाट २० करोड १३ लाख १२ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १४ करोड १० लाख ९० हजार प्राप्त हुने अनुमान बजेटमा गरिएको छ। 

वडाहरूलाई २१ करोड रुपैयाँ बजेट विनियोजन हुँदा सहरी योजना तथा भौतिक पूर्वाधारतर्फ ४३ करोड ५१ लाख १५ हजार, शिक्षा युवा तथा खेलकुदतर्फ ४७ करोड १३ लाख, स्वास्थ्य तर्फ ४ करोड ९ लाख, सामाजिक विकास तर्फ २ करोड ८६ लाख, आर्थिक विकासका लागि ३ करोड ४८ लाख ५० हजार, वन वातावरण उर्जा तथा विपद व्यवस्थापनका लागि १ करोड २५ लाख, पर्यटनमा १० लाख रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै सूचना तथा संचारमा २५ लाख ५० हजार, साहित्य कला र संस्कृतिका लागि ५ लाख, अव्यवस्थित बसोबास तथा सुकुमबासी व्यवस्थापनका लागि २३ लाख, कानून तथा न्याय सम्पादनका लागि १० लाख, सार्वजनिक जग्गा र जलाधार संरक्षणका लागि ४५ लाख, राजस्व सुधार तथा संस्थागत क्षमता विकासका लागि २५ लाख रुपैयाँ विनियोजन भएको छ।

आवधिक योजना र कर सूचनालाई भौगोलिक सूचना प्रणालीमा आबद्ध गर्ने अद्यावधिकको कार्यका लागि ३५ लाख बजेट विनियोजन गरेको धरान उपमहानगरपालिकाले प्रमुख कोष, उपप्रमुख कोष, आकस्मीक कोष तथा मर्मत कोषका लागि क्रमशः १ करोड ७५ लाख, ७५ लाख, ५ लाख, २० लाख बजेट विनियोजन भएको छ। 

उपमहानगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक लगायतका अन्य खर्चका लागि ४४ करोड ५९ लाख ५० हजार रकम विनियोजन गरेको छ। धरान उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि १ अर्ब ७१ करोड ७० लाख २० हजार बजेट ल्याएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७