फर्की आयो चुनावी पर्व : यस्ताे छ राेचक भिडन्त


६ कार्तिक २०७४, सोमबार
काठमाडौं  : आगामी १० मंसिरमा हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ८०२ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३२० र प्रदेश सभाका लागि ४८२ ले उम्मेदवारी दिएका छन् । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । पहिलो चरणको निर्वाचनमा ३२ जिल्लाबाट प्रतिनिधिसभाका ३७ र प्रदेश सभा ७४ गरी १११ सिटका लागि प्रतिस्पर्धा हुँदै छ । निर्वाचन आयोगले आइतबार शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको जनाएको छ ।
BABURAM BHATTARAI VS NARAYANKAJI SHRESTHA ELECTION GORKHA

आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्तिले प्रत्यक्ष निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले एक व्यक्तिले एकपटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्ने बताए । ‘एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुने व्यवस्था छ,’ उनले भने ।

निर्वाचन आयोगले ८ कात्तिकमा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यतालिका छ । आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि निर्वाचन चिह्न प्रदान गर्नेछ । आयोगले ९ कात्तिकबाट पहिलो चरणका प्रत्यक्षतर्फका मतपत्र छाप्न सुरु गर्नेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने एक करोड ७४ लाख मतपत्रमध्ये एक करोड १२ लाख मत छापिइसकेको छ । समानुपातिकका मतपत्र सात प्रकारका हुनेछन् भने प्रत्यक्षतर्फका मतपत्र भने निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुनेछन् ।

मतपत्रमा कसको चिह्न कस्तो ?

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग हुने मतपत्र दलीय गठबन्धनका आधारमा छापिँदै छन् । निर्र्वाचन आयोगका प्रवक्ता ढकालका अनुसार पहिलो चरणको निर्वाचनमा प्रतिनिधिसभाका लागि ३६ र प्रदेश सभाका लागि ७४ प्रकारका मतपत्र छापिनेछन् । ती मतपत्रमा उम्मेदवारी दिने दलका मात्रै निर्वाचन चिह्न हुनेछन् । निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएका उम्मेदवारका आधारमा ८ कात्तिकमा निर्वाचन चिह्न वितरण हुनेछ ।

एमाले र माओवादीको गठबन्धनअनुसार प्रतिनिधिसभामा एमालेबाट उम्मेदवार भएकोे निर्वाचन क्षेत्रमा माओवादी केन्द्रको निर्वाचन चिह्न मतपत्रमा छापिनेछैन भने माओवादी उम्मेदवार भएको निर्वाचन क्षेत्रमा एमालेको निर्वाचन चिह्न छापिनेछैन । त्यस्तै, कांग्रेसका उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा राप्रपा (प्रजातान्त्रिक) तथा नयाँ शक्ति पार्टीको चुनाव चिहन् छापिनेछैन । राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिका उम्मेदवार भएका निर्वाचन क्षेत्रमा कांग्रेसको निर्वाचन चिह्न छापिनेछैन ।

अदालतको आदेशले के गर्छ ?

सर्वोच्च अदालतले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र फरक–फरक छाप्न मिल्ने कि नमिल्ने भन्नेबारे गम्भीरतापूर्वक अध्ययन गर्न निर्वाचन आयोगलाई १ कात्तिकमा आदेश दिएको थियो । सोही आदेशको आधारमा आयोगका सहसचिव दिनेशकुमार घिमिरे संयोजकत्वमा सातसदस्यीय मतपत्र अध्ययन समिति गठन भएको छ । समितिले १६५ निर्वाचन क्षेत्रमा फरक–फरक मतपत्र छाप्न सक्ने–नसक्नेबारे अध्ययन गरेर आयोगलाई ८ कात्तिकभित्र सुझाब दिनेछ । सो सुझाबपछि आयोगले ९ कात्तिकबाट प्रत्यक्षतर्फका मतपत्र छपाइ थाल्नेछ ।

टिसर्ट र टोपी प्रतिबन्ध

निर्वाचन आयोगले १० र २१ मंसिरको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा चुनाव चिह्न अंकित टिसर्ट, झोला, टोपी, स्टिकर, गम्छा, ट्याटु प्रयोग नगर्न निषेध गरेको छ । आयोगले दलहरूलाई त्यस्ता धसामग्री उत्पादन, वितरण र प्रचारप्रसारमा कडाइ गर्न ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई आइतबार पत्र पठाएको हो ।

प्रदेश सभाको प्रतिस्पर्धामा केन्द्रीय नेता

प्रमुख दलले भावी मुख्यमन्त्रीका रूपमा अघि सार्ने गरी केही ‘हेभिवेट’ नेतालाई प्रदेश सभामा अघि सारेका छन् । एमाले–माओवादी केन्द्रको वाम गठबन्धन र कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनतर्फबाट एक दर्जन ‘हेभिवेट’ नेताले प्रदेश सभामा आइतबार उम्मेदवारी दर्ता गराएका छन् । पहिलो चरणमा ३२ जिल्लाका प्रतिनिधिसभातर्फ ३७ र प्रदेश सभातर्फ ७४ निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन भएको छ ।

प्रदेश १ मा तीन राई

प्रदेश नम्बर १ मा वाम गठबन्धनबाट एमाले पोलिटब्युरो सदस्य शेरधन राई तथा केन्द्रीय सदस्य राजेन्द्र राईले प्रदेश सभामा उम्मेदवारी दिएका छन् । शेरधनले भोजपुर–१ तथा राजेन्द्रले २ बाट उम्मेदवारी दिएका हुन् । दुवैले मुख्यमन्त्री या प्रदेश मन्त्रिपरिषद्मा महत्वपूर्ण ‘पोर्टफोलियो’ पाउने सम्भावना छ । कांग्रेसबाट प्रदेश नम्बर १ मा केन्द्रीय तहका प्रभावशाली नेताले उम्मेदवारी दिएका छैनन् । यद्यपि, लोकतान्त्रिक गठबन्धनका तर्फबाट भोजपुरमा संघीय समाजवादी फोरमका नेता अजम्बर काङमाङ राईले प्रदेश सभामा उम्मेदवारी दिएका छन् ।

प्रदेश ३ मा एमालेका तीन हेभिवेट

प्रदेश नम्बर ३ मा वाम गठबन्धनबाट एमालेका तीन र कांग्रेसका एक जना ‘हेभिवेट’ नेताहरूले प्रदेशसभामा उम्मेदवारी दिएका छन् । एमालेबाट तीनजना पोलिटब्युरो सदस्य पशुपति चौलागाईं, अरुण नेपाल र राजेन्द्रप्रसाद पाण्डेको उम्मेदवारी परेको छ । चौलागाईंले दोलखा, नेपालले सिन्धुपाल्चोक र पाण्डेले धादिङबाट उम्मेदवारी दिएका हुन् । प्रतिनिधिसभामा दाबी गरेका तीनै नेतालाई एमालेले सम्भावित मुख्यमन्त्रीका रूपमा प्रदेश सभामा उम्मेदवारी दर्ता गराउन लगाएको हो । कांग्रेसबाट नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले नुवाकोट– २ बाट प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश ४ मा एमालेबाट दुई गुरुङ

प्रदेश नम्बर ४ बाट एमालेका दुई नेताले प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् । सचिव पृथ्वी सुब्बा गुरुङले लमजुङ र किरण गुरुङले तनहुँबाट दर्ता गराएका छन् । कांग्रेसबाट कोही पनि ‘हेभिवेट’ उम्मेदवारले दर्ता गराएका छैनन् ।

प्रदेश ५ मा माओवादीबाट केसी

प्रदेश नम्बर ५ मा माओवादी केन्द्रका सचिवालय सदस्य कुलबहादुर केसीले रोल्पाबाट प्रदेश सभामा उम्मेदवारी दिएका छन् ।

प्रदेश ६ कांग्रेसका एक्ला केन्द्रीय सदस्य

प्रदेश नम्बर ६ बाट कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले हुम्ला, माओवादी केन्द्रका नेता नरेश भण्डारीले जुम्लाबाट प्रदेश सभामा उम्मेदवारी दिएका छन् । प्रदेश नम्बर ७ बाट भने दुवै गठबन्धनबाट ‘हेभिवेट’ नेताले उम्मेदवारी दिएका छैनन् ।

प्रतिनिधिसभा दलित शून्य, महिला उम्मेदवार तीन मात्रै

– पहिलो चरणको प्रतिनिधिसभा निर्वाचनमा दलित उम्मेदवारको संख्या शून्य छ । वाम र लोकतान्त्रिक गठबन्धनले कसैले पनि दलित उम्मेदवार बनाएका छैनन् । संविधानमा आरक्षण सिटमध्ये ११ प्रतिशत दलित समुदायले पाउने व्यवस्था छ ।

– त्यस्तै, प्रतिनिधिसभामा दुवै गठबन्धनले तीनजना मात्रै महिला उम्मेदवार बनाएका छन् । पश्चिम रुकुममा माओवादीकी कमला रोका, खोटाङमा कांग्रेसकी सरस्वती बजिमय र बाग्लुङ–१ मा कांग्रेसकै चम्पादेवी खड्का उम्मेदवार बनेका छन् । संविधानले आरक्षण सिटमा ३३ प्रतिशत महिला अधिकार सुरक्षित गरेको छ । त्यस्तै, प्रदेश सभामा पनि दुवै गठबन्धनबाट दलित र महिला उम्मेदवारको संख्या निराशाजनक छ ।

वाम गठबन्धनमाथि बागी उम्मेदवारी

रामेछाप : माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ वाम गठबन्धनबाट रामेछापमा प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । तर, उनको विपक्षमा माओवादीकै लक्ष्मी गुरुङले बागी उम्मेदवारी दिएकी छिन् । टिकट वितरणमा असन्तुष्ट जनाउँदै उनले उम्मेदवारी दिएकी हुन् । श्रेष्ठ माओवादीबाट पूर्वगृहराज्यमन्त्रीसमेत भएका थिए ।

रामेछापको प्रदेश सभा ‘क’मा वाम गठबन्धनबाट एमालेका शान्तिप्रसाद पौडेल उम्मेदवार बनेका छन् । उनीविरुद्ध पनि माओवादीका हेमन्त पौडेलले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, प्रदेश सभा ‘ख’मा एमालेका कैलाश ढुंगेललाई वाम गठबन्धनले उम्मेदवार बनाएको छ । उनीविरुद्ध माओवादीका मैनाकुमार मोक्तानले बागी उम्मेदवारी दिएका छन् ।

मनाङ : वाम गठबन्धनले प्रतिनिधिसभाका लागि मनाङबाट पाल्देन छेपाङ गुरुङलाई उम्मेदवार बनाएको छ । तर, उनीविरुद्ध दीपक मनाङेले बागी उम्मेदवारी दिएका छन् । मनाङे जिल्लाबाट सिफारिस भएका थिए ।

दोलखा : दोलखा प्रदेश सभा ‘ख’मा एमालेबाट पशुपति चौलागाईं उम्मेदवार बनेका छन् । उनीविरुद्ध एमालेकै लालकुमार केसीले बागी उम्मेदवारी दिएका छन् ।

जाजरकोट : जाजरकोटबाट प्रतिनिधिसभाका लागि वाम गठबन्धनले माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ । तर, उनीविरुद्ध एमालेका गोविन्दविक्रम शाहले बागी उम्मेदवारी दिएका छन् ।

ओखलढुंगा : ओखलढुंगा प्रदेश सभा ‘ख’मा कांगेसबाट प्रदीप सुनुवार उम्मेदवार बनेका छन् । उनीविरुद्ध कांग्रेस युवा नेता ज्ञानेन्द्र रुम्दालीले बागी उम्मेदवारी दिएका छन् ।

यी क्षेत्रमा रोचक भिडन्त

गोरखा–२ : लोकतान्त्रिक गठबन्धनका डा. बाबुराम भट्टराई र वाम गठबन्धनका नारायणकाजी श्रेष्ठ

सिन्धुपाल्चोक–१ : वाम गठबन्धनका तर्फबाट अग्नि सापकोटा र लोकतान्त्रिक गठबन्धनका सञ्चारमन्त्री मोहनबहादुर बस्नेत

सिन्धुपाल्चोक–२ : लोकतान्त्रिक गठबन्धनका पशुपतिशमशेर राणा र वाम गठबन्धनका शेरबहादुर तामाङ

लमजुङ : वाम गठबन्धनका देव गुरुङ र लोकतान्त्रिक गठबन्धनका दिलबहादुर घर्ती

नुवाकोट–१ : वाम गठबन्धनका हितबहादुर तामाङ र लोकतान्त्रिक गठबन्धनका रामशरण महत

नुवाकोट–२ : लोकतान्त्रिक गठबन्धनका अर्जुननरसिंह केसी र वाम गठबन्धनका नारायणप्रसाद खतिवडा

ओखलढुंगा : वाम गठबन्धनका यज्ञराज सुनुवार र लोकतान्त्रिक गठबन्धनका रामहरि खतिवडा

जाजरकोट : वाम गठबन्धनका शक्ति बस्नेत र लोकतान्त्रिक गठबन्धनका राजीवविक्रम शाह

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७