सुत्केरीलाई पोषणयुक्त खाद्य प्याकेज


२९ असार २०८०, शुक्रबार
sutkeri posan doti
फाइल फोटो

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाले गाउँका सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण गर्न थालेको छ । आमा र बच्चाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य परामर्शसहित पोषणयुक्त खानेकुराको प्याकेज वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । सुत्केरी र बच्चाको स्वास्थ्य सुरक्षा सुनिश्चिताका लागि गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी आमा–स्वास्थ्य, सरसफाइका साथै पोषिलो खाना’ कार्यक्रम बनाएरै कार्यान्वयनमा ल्याएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले बताए ।

गाउँपालिकाका विभिन्न वडा तथा टोलमा पुगेर सुत्केरीलाई पोषणयुक्त खाद्य प्याकेज प्रदान गरिरहेको गाउँपालिका उपाध्यक्ष शान्ता आङ्बुहाङले जानकारी दिइन् । उनका अनुसार विभिन्न वडाका गरी दुई सयभन्दा बढी सुत्केरीलाई उक्त प्याकेज वितरण गरिसकिएको छ । बाँकी रहेकालाई समेत वितरण गर्ने कार्यक्रम जारी राखिएको छ ।

खाद्य प्याकेजमा स्थानीयस्तरमा पाइने घीउ, सिमी, अण्डा, चना, मटर लगायतका खानेकुरा, साबुनसहितका नौ प्रकारका सामग्रीसहितको झोला वितरण भइरहेको आङ्बुहाङले बताइन् । उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाई निरन्तरता दिन आगामी आर्थिक वर्षका लागि रु पाँच लाख बजेट समेत विनियोजन गरिएको छ ।

आगामी आवदेखि सुत्केरी भएको एक महिनाभित्रै सुत्केरी महिलालाई उक्त प्याकेज पुर्‍याउने योजना छ । उक्त प्याकेज वितरणका लागि जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीसमेत खट्दै आएका छन् । सामान्य स्वास्थ्य जाँच तथा स्वास्थ्य परामर्श समेत दिने गरिएको बताइएको छ । सकेसम्म घर–घरमै पुग्ने र अनुकूल नभए टोल–टोलमा भेला गराई वितरण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७