चिया प्रविधिसम्बन्धी अध्यापन हुने


३० असार २०८०, शनिबार
tea ilam

इलाम । नेपालमा चिया खेती सुरु भएको एक सय ६० वर्षपछि इलाममा चियासम्बन्धी औपचारिक अध्यापन हुने भएको छ । इलाम नगरपालिका–१ को साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयमा चिया प्रविधिसम्बन्धी अध्यापन हुने भएको हो ।

चिया प्रविधि पढाइका लागि दुई वर्षे पाठ्यक्रम यसअघि नै स्वीकृत भइसकेको छ । पाठ्यक्रम विकास तथा स्तर निर्धारण महाशाखाले चियाको पाठ्यक्रम निर्माण गरेको थियो । पाठ्यक्रम निर्माणपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट उक्त पाठ्यक्रम स्वीकृत भइसकेको शिक्षालयका प्रमुख दीपक खनालले जानकारी दिए । उनले चिया प्रविधि प्री–डिप्लोमा तह (अप्रेन्टिसिप मोडालिटी) मा कक्षा सञ्चालन गर्ने तयारी गरिएको बताए । खनालका अनुसार इलाममा यो विषय अध्यापन सुरु भएपछि चियासँग सम्बन्धी किसानलाई सहजता हुने भएको छ । उनले कक्षा सञ्चालनको पत्र आउन बाँकी रहेको बताए । पत्र पाएपछि अध्यापन सुरु गरिने उनको भनाइ थियो ।

प्रमुख खनालका अनुसार विद्यार्थीले पहिलो तीन महिना शिक्षालयमा पाठ्यक्रमअनुसार अध्ययन गर्नेछन् भने बाँकी समय चिया उद्योगहरुमा चिया प्रविधिसम्बन्धी व्यावहारिक अभ्यास गराइने छ । चिया प्रविधि अध्यापनका लागि एक शैक्षिक सत्रमा २० देखि ४० जना विद्यार्थी समावेश हुने उनले जानकारी दिए । एसइई उत्तीर्ण गरेका विद्यार्थीले यो शिक्षामा सहभागी हुन पाउने उनको भनाइ थियो ।

सयौँ किसान यस क्षेत्रमा रहेको र हजारौँको रोजगारी हुने गरेको चियामा हालसम्म नेपालमा चियासम्बन्धी प्रविधिको पढाइ नहुनु दुखद भएको खनालले बताए । गुणस्तरीय तयारी चिया निर्माणका लागि भारतबाटै प्राविधिकहरु ल्याउनुपर्ने बाध्यता रहँदै आएको थियो । ‘चिया प्रविधि पढाइका लागि यो वर्ष कोशी प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने भएको छ । मन्त्रालयको सहयोग हुञ्जेल यहाँबाट शिक्षा लिने विद्यार्थीले बिनाखर्च अध्ययन गर्न पाउने छन्’, उनले भने ।

यसअघि सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमका रूपमा लागू गर्ने योजना अघि बढाए पनि सफल भएको थिएन् । त्यस्तै झापाको मेची बहुमुखी क्याम्पसमा केही समयअघि यो विषयको अध्यापन सुरु भए पनि तीन वर्ष सञ्चालन पछि पठनपाठन रोकिएको थियो । विदेशमा चिया क्षेत्रमा छुट्टै अध्यापन हुने गरे पनि नेपालमा भने भर्खरै सुरु हुन लागेको हो । नेपाली श्रमिकले चिया टिप्ने, उद्योगमा सामान्य काम गर्ने गरेका छन् । जानीनजानी काम गर्ने गरेको भए पनि अब विषयगत रुपमा नै अध्यापन हुन लागेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७