यी हुन् सय किलो सुन बरामद प्रकरणमा समातिएका चार जना


४ श्रावण २०८०, बिहीबार
Gold 1
सांकेतिक तस्वीर

काठमाडौं । करिब एक सय किलो सुन बरामद प्रकरणमा पक्राउ परेका चार जनाको परिचय खुलेको छ । पक्राउ परेका चार जनाको बयानले सुन तस्करीको मुल नाइकेसम्म पुग्न सजिलो हुने आंकलन गरिएको छ । सुरक्षा स्रोतका अनुसार बयानमा अहिलेसम्म प्रष्ट नामहरू आइसकेका छैनन्, यद्यपि सुन तस्करीमा व्यापारी दीपक मल्होत्राको समूह सक्रिय रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

राजस्व अनुसन्धान विभागको प्रारम्भिक अनुसन्धानले मल्होत्राको समूह सक्रिय रहेको बताइए पनि त्यसको खास विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार २०७४ मा ८८ किलो सुनको प्रकरणमा संलग्न समूह नै हुनसक्ने देखिएको छ । केही मारवाडी व्यापारीहरू पनि संलग्न देखिएको स्रोतको दाबी छ ।

त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट जाँचपासपछि मंगलबार नै २ बजे ट्याक्सीमा बाहिर निकालिएको थियो । त्यसको एक घण्टापछि सिनामंगलबाट सुन बरामद भएको हो । मंगलबार साँझ नै सुन बरामद भए पनि गोप्य राखेर बुधबार दिनभरी विभागले अप्रेसन चलाएको हो । करिब सय केजी सुन रहेको अनुमान छ ।

बरामद गरिएको सय किलो सुन १ सय ६० टुक्रामा पाइएको छ । क्याथे प्यासिफिकको विमानबाट आएको थियो । विमानस्थल भन्सार कार्यालयअगाडिबाट बा.२ च २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको थियो । यो तस्करीमा ठूलै व्यापारीको संलग्नताको आशंका गरिएको छ ।

राजस्व स्रोतका अनुसार सुन ओसारपसारमा संलग्न आरोपमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, सोही ठेगाना घर भई स्वयम्भू बस्ने वर्ष ५३ का रामकुमार भुजेल, भोजपुर अरुण गाउँपालिका ४ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र पुरानो दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षका भारतीय नागरिक थाप्तेन छिरिङलगायतलाई नियन्त्रणमा लिइएको हो । बिहीबार बिहानसम्म पक्राउ पर्नेको संख्या ६ पुगेको राजस्व अनुसन्धान विभागले जनाएको छ । पक्राउ पर्नेमा एक जना एजेन्ट समेत छन् । तर सबैको परिचय खुल्न बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७