झोलुङ्गे पुल बनेपछि एक घण्टाको यात्रा १० मिनेटमै


५ श्रावण २०८०, शुक्रबार
pul baglung

बागलुङ । बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । दुदिलाभाटीस्थित मध्यपहाडी लोकमार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २२७.२ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो । निर्माण कम्पनीले समयमै काम नसक्दा आयोजना अलपत्र परिरहेका बेला काफालठुटादेखि गौदी जोड्ने मान्द्रेखोलाको झोलुङ्गे पुल ठेक्का सम्झौता मितिभन्दा छ महिना अगावै निर्माण भएको छ ।

काठमाडौँको सस्पेन्सन वृज डिभिजन कार्यालयअन्तर्गत स्थानीय पूर्वाधार आयोजना कार्यालय कास्कीसँग २०७९ असार १५ गते बीएलपी कन्ट्रक्सनसँग १८ महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएकामा छ महिना अगावै निर्माण भएको हो । एक करोड २५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको पुल हस्तान्तरणको तयारीमा पुगेको कास्कीस्थित स्थानीय पूर्वाधार आयोजना कार्यालयका इञ्जिनियर निरज सापकोटाले जानकारी दिए ।

‘१८ महिनामा सक्नुपर्ने काम एक वर्षमै सकियो। सम्झौताभन्दा अगावै निर्माण सक्नु सकारात्मक पक्ष हो’, उनले भने, ‘पुल निर्माण भएपछि गौदी हुँदै दुदिलाभाटी बजार र वडा कार्यालय पुग्न सहज हुनेभयो। पुल अन्तिम प्राविधिक मूल्यांकनपछि पुल हस्तान्तरण गरिने छ ।’

इन्जिनियर सापकोटाका अनुसार ‘डी’ टाइप मोडेलमा निर्माण भएको उक्त झोलुंगे पुलको उचाइ ६० मिटर अग्लो छ । गलकोट नगरपालिकाभित्र २२७ मिटर लामो झोलुंगे पुल पहिलो पटक निर्माण भएको हो । साविक दुदिलाभाटी गाउँको तीन वटा वडाबासीलाई वडा कार्यालय जान, भाटी बजार पुग्न र वडा कार्यालय र भाटी बजारलाई मध्यपहाडी लोकमार्गमा आउन सहज भएको स्थानीय धना खत्रीले बताए ।

उनका अनुसार पैदल यात्रुलाई काफलठुटा हुँदै, चाउथेखोला, मान्द्रेखोला तरेर गौदी पुग्न एक घण्टा लाग्नेमा पुल निर्माणपछि १० मिनेटमै पुग्न सकिने भएको छ । पाँच वर्षदेखिको अनवरत प्रयास र पहलपछि पुल निर्माण गर्न सफल भएको गलकोटका समाजसेवी ललिता थापाले जानकारी दिए ।

‘मध्यपहाडसँग छुटेको गाउँलाई झोलुङ्गे पुलले जोडेर सहज भएको छ । सदरमुकाम जान यहाँका बासिन्दाको एक घण्टाको यात्रा छोटो भएको छ’, उनले भने, ‘झोलुङ्गे पुल निर्माणसँगै स्थानीयवासीलाई स्वास्थ्य चौकी, विद्यालय र वडा कार्यालय आवतजावत गर्न सहज भयो ।’ निर्माण गरिएको पुल साउन दोस्रो हप्ता प्राविधिक मूल्यांकनपछि हस्तान्तरण गरिने निर्माण कम्पनीका प्रतिनिधि तीर्थाराम खड्काले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७