मर्चवारीदेवीको फरक छ पहिचान र महिमा


७ श्रावण २०८०, आईतवार
marchawar

–रामविकास चौधरी
लुम्बिनी ।
मर्चवार क्षेत्रका इष्टदेवी हुन्, मर्चवारीदेवी । उनकोे मन्दिर रुपन्देहीको मर्चवारी गाउँपालिका–५ मा अवस्थित छ । मर्चवारीदेवीको उत्पत्ति प्रसङ्गको सन्दर्भमा विभिन्न कथा र किंवदन्ती रहेका छन् । उनको शक्तिपीठ रातो रङ्गमा माटाको ‘पिण्ड’ आकारमा छ ।

मर्चवारीदेवीको महिमा भोजपुरी भाषाको मर्चा (खुर्सानी) शब्दबाट सुरू भएको हो । ‘देवीको पूजा अर्चना गर्नाले दुःख–दरिद्रता नाश हुने र मनोकामना पुरा हुने जनविश्वास छ’, मन्दिरका महन्थ शम्भूशरण दासले भने, ‘पहिला यहाँ बलिप्रथा पनि थियो अहिले हटाइएको छ ।’ ‘मर्चवारीदेवीलाई विशेष गरेर मर्चवारी, सम्मरीमाई र कोटहीमाई गरी हालको तीन गाउँपालिका र वरिपरि मर्चवारवासीको आराध्य र इष्टदेवी मानिन्छ’ मर्चवारी गाउँपालिका–३, मधुबनियाका ५२ वर्षीय दीपचन्द यादवले भने, ‘यिनै देवीको महिमा र नामबाट सो क्षेत्रको नाम मर्चवार रहन गएको हो ।’

किंवदन्तीअनुसार परापूर्वकाल जतिबेला मानिस कबिलामा बस्दै फिरन्ते जीवन बिताउँथे,  त्यतिबेला त्यही बाटो भएर एउटा कबिलाको त्यहाँ आगमन भएको यादवले सुनाए । उनले भने, ‘त्यही कबिलाले आफूसँग डोलामा राखी ल्याएको आफ्नो इष्टदेवीकोे पिण्डलाई त्यहाँ राखेर नित्य पूजा आराधना गर्दथ्यो ।’

केही दिनको बसाईपश्चात् त्यहाँबाट उत्तरतर्फ जानेबेलामा कबिलाका सरदारले माटोको त्यो पिण्डलाई डोलामा राख्न खोज्दा उठेन र देवीले त्यो ठाउँ उहाँको लागि अतिउत्तम भएकाले जान नचाहेको इच्छा व्यक्त गर्दै आफूलाई त्यहीँ छोडी जान आग्रह गरे अनुसार कबिलाल त्यहाँबाट रित्तै फर्केको उनले सुनाए ।

अध्यात्मका जानकार मानिने यादवले भने, ‘कबिलाले बगैचाको पूर्वीछेउमा रहेको पोखरीबाट माटो ल्याई त्यो पिण्डलाई पूर्सा (मुठ्ठी कसेर हात उठाएको मानिसको पूर्णकद) वरावर पारी पूजा–आराधनापश्चात स्थापना गरी नीमको बोट सम्झेर मर्चा (खुर्सानी) को बिरुवा रोपी झिसमिसे बिहानमा फर्केको थियो ।’

फलफूलको बगंैचा, झाडी, बुट्टयान, खरहौटी र ताल–पोखरीले त्यहाँ खरायो, मृग, कालिज, तितर, पडखी, बसमुर्गी आदि पशुपंक्षीहरू प्रशस्त मात्रामा पाइन्थे । त्यो ठाउँ चौपायाका लागि चरनका साथै शिकारका लागि पनि अतिउत्तम मानिन्थ्यो । त्यतिबेला मर्चवारीदेवीको त्यो शक्तिपीठका बारेमा अन्य कसैलाई थाहा भएन । ‘कालान्तरमा त्यसक्षेत्रमा हैजाको प्रकोप बढ्यो । हैजाग्रस्त एक गोठालाले त्यहाँ फलेको खुर्सानी टिपेर खाई पोखरीको पानी पिएपछि सन्चो भयो’ यादवले भने, ‘माताले सपनामा हैजाग्रस्त ती गोठालालाई बताए अनुसार पूर्वस्थापित शक्तिपीठ वरिपरि सरसफाइ गरी मर्चवारी माताको रुपमा पूजा–आराधना शुरु गरियो ।’

यसै प्रसङ्गलाई कोटहीमाई गाउँपालिकाका पूर्वअध्यक्ष चन्द्रभूषण यादवले अर्कै कथा सुनाए । उनले भने, ‘शक्तिस्वरुपा पिण्डलाई डोलामा राखेर पछि–पछि दूधको धारा बगाउँदै उत्तरतर्फ गइरहेकाहरुको दूध त्यही आएर सकियो र देवी त्यहीँ अलप हुनुभयो, देवीलाई लैजाने कबिलाको सरदारले पनि त्यही देहत्याग गर्नुभयो ।’

उमेरले ७५ काटिसकेका पूर्व गापा अध्यक्ष यादव वर्षौदेखि नियमित पूजापाठ गर्ने मर्चवारीदेवीका उपासकमध्येका एक हुन् । उनका अनुसार निकैपछि एक गोठालाले त्यहाँ फलेको दुईवटा खुर्सानी टिपेर खाएपछि निकै पीडा भयो । खुर्सानी खाएकाले हो, पूजा गर, भक्ति गर ठीक हुनेछ’, देवीले सपनामा भनेपछि त्यस्तै गर्दा उनलाई सन्चो भयो । 

मर्चवारीदेवीले दिएको निर्देशन अनुसार बगैंचाको पश्चिमी छेउमा रहेको पोखरीबाट माटो ल्याई त्यहाँ पूर्सा बराबरको डल्लो (पिण्ड) बनाई मर्चवारीदेवीको प्रतीकका रूपमा शक्तिपीठ स्थापना गरेर पूजा आराधना शुरु भयो । त्यसपछि स्थानीयको पिडा, दुःख सबै ठीक भएको कथा आफ्ना अग्रज बूढापाकाहरुबाट सुनेको यादवले बताए । 

मर्चवार क्षेत्र धार्मिक, पुरातात्विक र पर्यटनीय दृष्टिले निकै महत्वपूर्ण छ । यहाँ कथा, कडाही, विवाह, ब्रतबन्ध र मुण्डन संस्कार अदि विभिन्न धार्मिक आयोजनहरू वर्षभरि हुने गर्दछन् । त्यहाँबाट भारतीय सीमाना चार किमी पूर्वमा रहेको छ । यो मन्दिर रूपन्देहीको दक्षिणी सीमावर्तीक्षेत्र मर्चवारी–७ र कोटहीमाइ–७ को सिमानामा अवस्थित छ ।

विसं २०४४ मा तत्कालीन राजा वीरेन्द्र तथा २०६९ असार २१ र २०७६ मङ्सिर २० मा पूर्वराजा ज्ञानेन्द्रले पनि मर्चवारीदेवी मन्दिरको दर्शन अवलोकन गर्नुभएको थियो । तत्कालीन पाल्पा राज्यका सेनवंशीय राजाहरु पनि मर्चवारीदेवी शक्तिपीठको दर्शन, पूजा–आराधना र आर्शिवाद लिने चलन रहेको बताइयो । अध्यक्ष मिश्रले भने, ‘विश्व शान्तिको मुहान तथा अन्तरराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी नजिकै रहेको मर्चवारीदेवी मन्दिरको महिमा र महत्व बढ्दो छ ।’ 

लुम्बिनी प्रदेशमै अन्नको भण्डार भनेर चिनिने मर्चवार क्षेत्रको इष्ट मर्चवारीदेवीलाई बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर पर्यटन प्रवद्र्धन गर्न प्रदेश सरकारले पहल गरिरहेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७