सुनसान चितवनका पसल, कोठा भाडा तिर्ने चिन्तामा व्यापारी


२२ श्रावण २०८०, सोमबार
sky bridge useless chitwan

चितवन । अर्थतन्त्र चलायमान हुन नसक्दा यहाँका कपडा पसलमा सेवाग्राहीको उपस्थिति न्यून भएको छ । सहरी क्षेत्रमा महँगो भाडा तिरेर पसल गरेका व्यवसायी पसल बन्द गर्ने स्थितिमा पुगेका छन् । भाडा तिर्न समेत आम्दानी हुन छाडेपछि व्यापारी चिन्तत छन् । ‘विगतमा यहाँका पसलमा जाँदा पसलेलाई बोल्ने फुर्सदै हुँदैन्थ्यो, प्रायः पसले व्यापार गर्नको हतारमै हुनुहुन्थ्यो’, कपडा व्यवसायी सङ्घ चितवनका कार्यालय सचिव वासु दवाडीले भने, ‘हिजोआज जुन कपडा पसलमा गए पनि सुनसान छन् ।’

दवाडीले सङ्घको कार्यालय सचिवको जिम्मेवारी बहन गर्नुका साथै नारायणढका केही कपडा पसलको लेखापालको समेत काम गर्छन् । उनी भन्छन्, ‘जुनसुकै समयमा पनि ग्राहककोे भीड हुन्थ्यो, कपडा किन्न आउनेहरु पसलमा टुट्दैनथे, तर हिजोआज जताततै सुनसान छ ।’ उनले पहिला दैनिक हिसाब राख्ने पसलले पछिल्लो समय दुई चार दिन बिराएर हिसाब राख्न बोलाउने गरेको उनको अनुभव छ ।

कपडा व्यवसायी सङ्घका अध्यक्ष गुणराज पौडेल आफूले व्यापार सुरु गरेको २० वर्षमा यस वर्ष जस्तो मन्दी कुनै वर्ष पनि नभएको बताउँछन् । उनी भन्छन्, ‘सङ्घमा एक सयभन्दा बढी व्यवसायी आवद्घ हुनुहुन्छ, सबैको हालत उस्तै छ, कसैको पनि व्यापार छैन ।’ आम उपभोक्तामा क्रयशक्ति घट्नु, जग्गाको कारोबार नहुनु र कोभिडको असर हाल आएर देखापर्नुले गर्दा यस्तो भएको उनकोे बुझाइ छ ।

विगतका वर्षमा यही समयमा दैनिक रु एक लाख ५० हजारभन्दा बढीको व्यापार हुने कपडा पसलमा अहिले ७५ प्रतिशतले गिरावट आएको अध्यक्ष पौडेलको भनाइ छ । ‘बजार सुनसान छ समय कसरी बिताउने भन्ने स्थिति आएको छ’, उनले भने, ‘यही अवस्था रहेमा पसल नै बन्द गर्ने स्थिति नआउला भन्न सकिन्न ।’

नारायणगढको शहीदचोकमा विगत २३ वर्षदेखि कपडा व्यवसाय गर्दै आएका नीरजकुमार श्रेष्ठ नारायणगढ हुँदै जाने पूर्व–पश्चिम राजमार्ग मर्मतको काम भइरहकाले पनि सेवाग्राहीलाई समस्या भएको बताउँछन् । सडक विस्तारसँगै सवारी पार्किङको अभाव हुँदा नारायणगढ बजारमा सेवाग्राही आउँनै छाडेको उनले बताए । ‘आर्थिक मन्दीको असर त छँदैछ मलमासले पनि यस समयमा व्यापार हुनसकेको छैन’, श्रेष्ठले भने, ‘चाडपर्व आएपछि केही सुधार हुने आश छ ।’

कपडा व्यवसायी सङ्घका उपाध्यक्ष समेत रहेका श्रेष्ठले केही व्यापारी बजारबाट गाउँउन्मुख भएको बताए । उद्योग वाणिज्य सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठ आर्थिक विषम परिस्थितिमा व्यवसायीलाई टिकाइराख्न आफूहरु लागिपरेको बताउँछन् । चितवनमा मात्र नभएर यो समस्या देशभरकै भएको जनाउँदै यसको दीर्घकालीन समाधानका लागि उनले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग छलफल भइरहेको बताए । बैंकको चर्को ब्याजले पनि व्यवसायीलाई मर्का परेको जनाउँदै उनले एकल अङ्कको ब्याज भएमा व्यवसायीलाई राहत हुने बताए । उनले भने, ‘यो समग्र अर्थतन्त्रको समस्या हो, राज्यले सम्बोधन गर्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७