विपदबाट ५० जिल्ला प्रभावित : ४१ को मृत्यु, ३१ जना बेपत्ता


२५ श्रावण २०८०, बिहीबार
pahiro kahar

काठमाडौँ । गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपदबाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपदमा परेर ४१ जनाले ज्यान गुमाएका छन् । ३१ जना बेपत्ता छन् ।

ती जिल्लामा विपद्बाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए । उनका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ । ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन् ।

यस्तै बेपत्ता हुनेहरु छ जिल्लाका छन् । सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए । अठ्ठाइस जिल्लाका ५५ जना घाइते भएका छन् ।

विपदमा परेर कूल एक सय ३० घर पूर्णरुपमा क्षति भएका छन् भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ । मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, सङ्खुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो । मनसुनका अवधिमा मुलुकभर कम पानी पर्ने आँकलनका बीच बेलाबेलामा परेको भारी वर्षाले विभिन्न जिल्लामा बाढी र पहिराका घटना निम्त्याइरहेको छ । यद्यपि कतिपय जिल्लामा अझै वर्षा हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७