जहाँ कामदार, त्यहाँ विद्यार्थी


२९ श्रावण २०८०, सोमबार
school manang

मनाङ । हिमाली जिल्ला मनाङको घरायसी कामदेखि होटल व्यवसाय, विकास निर्माणका काम गर्न अन्य जिल्लाबाट कामदार भित्रिने गर्दछन् । कामको सिलसिलामा मनाङ भित्रिएका कामदारका बालबालिकाको भरमा यहाँका विद्यालय सञ्चालन हुने गरेका छन् ।

मनाङको माथिल्लो भेगमा स्थानीय बालबालिकाभन्दा कामदारका बालबालिका विद्यालयमा बढी देखिन्छन् । न्यून मात्रामा स्थानीय बालबालिका जिल्लामै अध्ययन गर्छन् भने अभिभावकसँगै आएका कामदारका बालबालिका विद्यालयमा अध्ययन गरिरहेका हुन्छन् । मनाङका विभिन्न भागमा कामका गर्ने क्रममा आफ्ना बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना तथा अध्ययन गराउने गरेको पाइन्छ ।

गोर्खा घर भई हाल मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकामा काम गर्दै आएकी माया गुरुङ भन्छिन्, ‘अघिल्लो वर्ष वडा नं ३ ङावलमा काम गर्दा ङावल आधारभूत विद्यालयमा छोराछोरीलाई यहीँ भर्ना गराएकी थिएँ, अहिले त्यहाँ काम सकिएपछि काम भ्राकामा सर्‍यो, यहीँको पायक पर्ने भ्राका आधारभूत विद्यालयमा छोराछोरीलाई पढाइरहेकी छु ।’ काम गर्ने ठाउँ फेरिरहने भएकाले वर्षैपिच्छे आफूसँगै बालबालिकाको विद्यालय फेरिरहेको उनले बताइन् ।

त्यस्तै गोर्खा मान्बु घर भई हाल मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङगाउँमा काम गर्दै आएकी सुकमाया गुरुङले कामको सिलसिलामा वडा नं ५ भ्राकामा काम गर्न सरेपछि बालबालिकाको विद्यालय फेरेकी छन् । सुकमाया भन्छिन्, ‘मनाङगाउँमा काम गर्दा अन्नपूर्ण माध्यमिक विद्यालयमा छोराछोरीलाई पढाएकामा अहिले भ्राका आधारभूत विद्यालयमा पढाइरहेकी छु, बच्चालाई पढाउन त पर्‍यो नि ! के गर्नु आफू जताततै भर्ना गर्दै पढाउँदै आएको छु, यसरी विद्यालय फेर्दा पढाइ राम्रो नहुने रहेछ ।’

यसरी नै यहाँ विद्यालय सञ्चालन भएका छन् । भ्राका आधारभूत विद्यालयका प्रधानाध्यापक शिवप्रसाद अधिकारीले कहिले विद्यालय विद्यार्थी भरिभराउ हुने तर कहिले भने शून्य हुने अवस्था रहेको बताए । यहाँका स्थानीय विद्यार्थी नभएको उनले बताए । यहाँका अधिकांश स्थानीयवासीका बालबालिका विदेश र जिल्ला बाहिर नै रहने भएकाले जहाँ बसोबास उतै बालबालिका पढाउने हुँदा यस्तो भएको प्रधानाध्यापक अधिकारीले बताए । 

जिल्लाका विभिन्न विद्यालयको समस्या यस्तै रहेको छ । विकट स्थानको शैक्षिक गुणस्तर र प्राकृतिक प्रकोपका कारणले पनि मनाङका बालबालिका जिल्ला बाहिर रहने गरेका छन् । अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्द घिमिरेले अघिल्लो वर्ष विद्यार्थी कम रहेकामा यस वर्ष बढेको बताए ।

‘गत वर्ष ५० विद्यार्थी पनि थिएनन्, विद्यालयमा यस वर्ष बढेका छन्’, उनले भने, ‘यस क्षेत्रमा काम धेरै भएनन्, जसले गर्दा विद्यार्थी कम थिए, यस वर्ष काम बढेपछि विद्यार्थी पनि बढेका छन् ।’ गत वर्षसम्म कोभिडको प्रभाव पनि परिरहेकाले यहाँका धेरै काम हुन नसक्दा कामदार कम भए । यस वर्ष काम ह्वात्तै बढेको र कामदार बढ्दा यहाँको विद्यालयमा विद्यार्थी बढेको उनले बताए । तल्लो कक्षामा स्थानीय बालबालिका अध्ययन गरिरहेका तर, माथिल्ला तहमा भने स्थानीय बालबालिका एकजना वा शून्य रहेका उनले बताए ।

विकट जिल्ला भएकाले यहाँ विद्यार्थी न्यून छन् । यहाँका विद्यालय सञ्चालन हुनका लागि जिल्लामा कामदार आवश्यक पर्छ । शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कका अनुसार कक्षा १ देखि ५ सम्मका मनाङ ङिस्याङ गाउँपालिकामा ५४, सदरमुकाम चामे गाउँपालिकामा ५५, नासों गाउँपालिकामा ८४ र नार्पाभूमि गाउँपालिकामा १० विद्यार्थी रहेका छन् । कक्षा ६ देखि १२ सम्म पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको प्रमुख मतिलाल चपाईंले जानकारी दिए । 

उनका अनुसार कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीको सङ्ख्या मनाङ ङिस्याङ गाउँपालिकामा कूल ७२ जना रहेका छन् । चामे गाउँपालिकामा एक सय ७६, नासों गाउँपालिकामा एक सय ७८ र नार्पाभूमि गाउँपालिकामा शून्य रहेको उनले बताए । मनाङमा इसिडिमा एक सय ६६, कक्षा १ देखि ५ सम्म एक सय ४६, कक्षा ६ देखि ८ सम्म एक सय नौ, कक्षा ९ र १० मा ८३, कक्षा ११ र १२ मा ४१ गरी कूल पाँच सय ४५ विद्यार्थी रहेका छन् ।

मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १७ विद्यार्थीको पठनपाठनका लागि ४१ शिक्षक रहेका छन् । चामे गाउँपालिकामा दुई सय ४५ विद्यार्थीका लागि ३४ शिक्षक, नासों गाउँपालिकामा एक सय ५८ विद्यार्थीका लागि ७७ शिक्षक र नार्पाभूमि गाउँपालिकामा २५ विद्यार्थीका लागि नौ गरी कूल एक सय ६१ शिक्षकले उनीहरूलाई पठनपाठन गराउँदै आएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७