महाकालीको चार लेन पुल सुदूरपश्चिम समृद्धिको मेरुदण्ड : मन्त्री ज्वाला


२ भाद्र २०८०, शनिबार
Mahakali 4 len pul anugaman kanchanpur 2
फाइल फोटो

कञ्चनपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल सुदूरपश्चिम प्रदेशको समृद्धिको मेरुदण्डका रुपमा रहेको बताएका छन् ।

महाकाली पुलको आज यहाँ स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले पुल निर्माणपछि मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए । ‘पुलसँगै दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बन्ने कुरा अगाडि बढिसकेको छ’, उनले भने, ‘यसलाई देशकै प्रमुख नाकाका रुपमा सञ्चालन गर्छौं ।’

Mahakali 4 len pul anugaman kanchanpur 1

मन्त्री ज्वालाले महाकाली पुल बहुउपयोगी र शारदा व्यारेजको विकल्पका रुपमा रहेकोे बताए । ‘यसले नेपाल–भारतलाई जोड्नुका साथै पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ’, उनले भने, ‘पुलले महाकाली पारीको गाउँलाई पनि देशको मूलधारसँग जोड्ने छ ।’ पुल निर्माणका लागि कुनै पनि समस्या हुन नदिने मन्त्री ज्वालाले प्रतिबद्धता जनाए । पुल निर्माणको काम बजेट अभावले नरोकिने उनको भनाइ थियो ।

निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले बजेट अभावले निर्माणको काम प्रभावित नहुने बताए । ‘पुलको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ’, उनले भने, ‘पुलसँगै बन्ने पहुँचमार्ग र पुलको दुवैतर्फ पोखरी निर्माणाधीन छन् ।’ चार लेनको उक्त पक्की पुललाई दोधारा चाँदनीमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा हेरिएको इन्जिनियर पाण्डेयले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला सुक्खा बन्दरगाहको काम तीन वर्षभित्र सक्ने सम्झौता भएको छ । भारतले निर्माण गर्ने सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा छ । सुक्खा बन्दरगाह निर्माणपछि दोधारा चाँदनीसँगै सुदूरपश्चिमकै समग्र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७