‘पूर्व प्रधानमन्त्रीमाथि छानविन गर्नू’ भनेर सर्वोच्चले आदेश दिएको होइन : समाजवादी

भोलिबाट पोलिटव्युरो र भदौ ५ देखि केन्द्रीय कमिटी बैठक


२ भाद्र २०८०, शनिबार
Samajbadi
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तय गरेको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भोलि (आइतबार) देखि सुरू हुने पोलिटव्युरो र भदौ ५ देखि सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय भएको बताए ।

आज (शनिबार) बसेको सचिवालय बैठकले दुबै बैठकका लागि एजेण्डा तय गरेको उनले जानकारी दिए । उनले बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यनीतिका विषयमा छलफल गर्ने एजेण्डा तय भएको बताए ।

उनले भोलिदेखि दुई दिन पोलिटव्युरो र भदौ ५ देखि ७ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिए । ‘आजको बैठकले पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकको एजेण्डाका विषय टुंगो लगाएको छ । केन्द्रीय कमिटीमा प्रस्तुत गरिने एजेण्डाहरू पोलिटव्युरो बैठकमा पनि छलफल हुन्छ,’ उनले भने ।

बैठकमा ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले दिएको आदेशका विषयमा पनि छलफल भएको बताएका छन् । प्रवक्ता खतिवडाले अध्यक्ष नेपालको बचाउ गर्दै सर्वोच्च अदालतले नाम तोकेर कुनै आदेश नदिएको बताए । ‘छानविन आवश्यक परे कसैलाई नछोड्नु भनेको हो । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि नै छानविन गर्नू भन्ने आदेश दिएको होइन,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७