विदेशमा रहेकी छोरीसँग ‘भिडियो कल’ मा बोल्न पाउँदा मिङमाको मनै प्रफुल्ल


३ भाद्र २०८०, आईतवार
Mobile Internet 1
सांकेतिक तस्वीर

ताप्लेजुङ । दुर्गम क्षेत्रमा मोबाइल र फोरजीमार्फत इन्टरनेट सञ्चालन भएसँगै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा सञ्चार पहुँच पुगेको छ । फक्ताङलुङ –६ लोवाडाँडामा नेपाल टेलिकमको फोरजी टावरमार्फत सेवा सञ्चालन भएपछि फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चारको क्षेत्रमा अर्को फड्को मारेको हो ।

फोरजी सेवा सञ्चालनमा आएसँगै लेलेपको साँगु, बतासे, मादिबुङ, फेम्बु, लेलेप, लुङथुङ, सेकाथुम लावाजिन, किसोङ्मा, अम्जीलेसा र तापेथोकको हेल्लोक, यासाङ, सोत्लिमा, तापेथोक र इखाबुको केही क्षेत्रमा सुविधा पुगेको छ । फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूका अनुसार यस सेवामार्फत फक्ताङलुुङ गाउँपालिकाका करिब तीन हजार जनसंख्या प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।

यसबाट स्थानीय समुदाय मात्रै नभएर कञ्चनजङ्घा क्षेत्रमा आउने हजारौँ पर्यटकलाई पनि सेवा पुग्ने र विभिन्न सरकारी तथा गैरसरकारी निकायले दिने सेवामा पनि इन्टरनेट उपयोग गरी सहजता हुने फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूको सचिालयमार्फत जानकारी गराएका छन् । भौगोलिक हिसाबले नेपालकै तेस्रो ठूलो गाउँपालिकाका रूपमा रहेको फक्ताङलुङका भौगोलिकरूपमा दुर्गम भएको र मानवबस्ती र जनसंख्याको पहुँचका कारण सञ्चार क्षेत्र विस्तार गर्दा खासै फाइदा नहुने भएकाले विगतदेखि नै सञ्चार क्षेत्रका लगानीकर्ता यस क्षेत्रमा मोबाइल नेटवर्क विस्तार गर्न आनाकानी गर्दै आएका थिए ।

विसं २०७४ मा फक्ताङलुङको लेलेपस्थित मुरिङ्लाडाँडामा नेपाल टेलिकमको टुजी सेवा विस्तार भएपछि मात्र यस क्षेत्रमा मोबाइल सेवा विस्तार भएको थियो । तर त्यस सेवा प्रभावकारी नभएको गुनासो बारम्बार आएको थियो । फक्ताङलुङको तल्लो भेग वडा नं १, २, ३, ४ का सावादिन, खेजेनिम, लिङ्खिम र इखाबुका अधिकांश भेगमा विगतदेखि नै टेलिकम र एनसेलको फोरजीसहितको सेवा विस्तार भइसकेका छन् ।

उता बाँकी वडा नं ५, ६ र ७ का क्रमशः तापेथोक, लेलेप र ओलाङ्चुङगोला क्षेत्र सञ्चारबाट पछाडि पर्दै आएको थियो । फक्ताङलुङ–६ को घुन्सामा र ओलाङ्चुङगोला बस्ती आसपासलाई लक्षित गरी नेपाल टेलिकमको टुजी सेवा विस्तार भएको थियो । सामग्री ढुवानीदेखि लिएर यसको जडानका लागि सम्बन्धित निकायमा पहलकदमी गरेर मात्रै यो सम्भव भएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष लिम्बूले बताए । आफू स्वयं सेकाथुमबाट लोवाडाँडासम्म सामान ढुवानी गर्नका लागि खटिएको उनले जानकारी दिए ।

अध्यक्ष लिम्बूका अनुसार अब सोही पालिकाको वडा नं ७ हिलेखर्कमा ओलाङ्चुङगोलाको लागि फोरजी टावर राख्नका लागि सर्भेको काम सकिएको छ भने घुन्सातर्फ पनि टावर राख्नका लागि पहिलो चरणको सर्भे सकिएको बताए । उनका अनुसार सो स्थानबाट पनि अबको एक वर्षमा फोरजी सेवा सञ्चालनमा ल्याइने छ । यस क्षेत्रका बासिन्दाले इन्टरनेटको सेवा उपयोग गर्न पाएका थिएनन् । आजको समय इन्टरनेटको समय हो ।

विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न र खबर आदान–प्रदान गर्न पनि इन्टरनेट अनिवार्य जस्तै भएको छ । इन्टरनेट सेवाबाट यस क्षेत्रका बासिन्दा बञ्चित हुँदै आएकामा अहिले फक्ताङलुङ–६, लुङथुङका मिङ्मा शेर्पाले विदेशमा रहेको छोरीसँग परिवारै बसेर भिडियो कलमा बोल्न पाउँदा मनै प्रफुल्ल भएको बताए । अहिले फोरजी सेवाले यहाँका बासिन्दालाई विश्वसँग जोडिदिएको छ । यस क्षेत्रका लागि यो सूचना तथा सञ्चारको क्षेत्रमा नयाँ फड्कोका रूपमा लिन सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७