शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका दुई एसपीको जिम्मेवारी खोस्दै सरुवा

काठमाडाैं । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयका प्रमुखको सरुवा गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो ।
काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दान कार्कीलाई काज सरुवा गरेर प्रहरी महानिरीक्षकको सचिवालयमा पुर्याइएको छ । त्यस्तै अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी मनोज केसीलाई प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ ।
कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा लगिएपछि काठमाडौं परिसर प्रमुखमा एसएसपी भूपेन्द्र खत्रीलाई ल्याइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत खत्रीले काठमाडौं परिसरको नेतृत्वको जिम्मा पाएका छन् । अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी सोमेन्द्रसिंह राठौरलाई ल्याइएको छ । केसीको प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरेर राठौरलाई ल्याइएको हो । निर्देशनालयका सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ ।